ईटाभट्टा, १७ मंसिर । हानिकारक उल्टा काँडा झार नियन्त्रणका विषयमा मेचीनगरमा सरोकारवालाहरुसँग छलफल गरिएको छ ।
फरेस्ट एक्सन नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगर मेयर गोपालचन्द्र बुढाथोकीले विषालु वनस्पतिको पहिचान गरी त्यसलाई व्यवस्थापन गर्न लागि पर्ने बताए ।
‘उल्टा काँडा विषालु हुँदोरहेछ, किसानहरुले यो कुरा भनिरहनु भएको छ,’ मेयरले भने, ‘यो हानिकारक झार नियन्त्रण गर्न योजना बनाएर तुरुन्तै अघि बढ्ने छौं ।’
कार्यक्रममा उपमेयर मीना पाेखरेल उप्रेती, डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, जिल्ला वन उपभोक्ता महासंघ अध्यक्ष वेदप्रकाश भण्डारी, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति संगीता थापा, वडाध्यक्षहरु दिपक बराल, कञ्चन तामाङ, हर्क बस्नेत लगायतले उल्टा काँडा नियन्त्रणका विषयमा धारणा राखेका थिए ।
उल्टा काँडा नियन्त्रणका विषयमा छलफल गर्न बोलाइएको साे कार्यक्रममा १५ वटै वडाध्यक्षलाई निमन्त्रणा गरिएको थियो । तर, तीन जना वडाध्यक्ष मात्र कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रमको गाम्भीरता बुझ्न नसक्दा वडा-वडामा नियन्त्रणका अभियान सञ्चालन गर्न चुनौती थपिएको छ ।
सबै वडाध्यक्षहरु उपस्थित भएर किसानलाई बुझाउन सकेको भए नियन्त्रण गर्न सजिलो हुने आयोजकको अपेक्षा छ ।
Discussion about this post