बिर्तामोड, २८ मंसिर । नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपा माओवादीका स्थायी कमिटी सदस्य अनिल विरहीले फेक र नक्कली समाचार भन्दा माथि उठेर भुईमान्छेको पक्षमा लाग्न आग्रह गरेका छन् ।
आज बिर्तामोडको होटल ग्रान्ड प्यासिफिकमा आयोजित पूर्वी गर्जन मिडिया प्रालिद्वारा प्रकाशित ‘पूर्वी गर्जन’ पत्रिकाको विमोचन गर्दै विरहीले सो कुरा बताएका हुन् ।
सूचना क्रान्ति हो कि प्रतिक्रान्ति प्रश्न गर्दै प्रमुख अतिथि विरहीले भुईमान्छेको पक्षमा लाग्न ‘पूर्वी गर्जन’ पत्रिकाको टिमलाई अनुरोध गरेका छन् ।
‘ऋण तिर्न नसकेर छतबाट हाम फालेर मर्नु पर्ने समाजवाद चाहिँएको होइन’, नेता विरहीले भने–‘रुस र चीनको जस्तो समाजवाद पनि होइन । नेपाली जनतालाई सुहाउँदो समाजवाद चाहिँएको छ । त्यसका लागि जनमत संग्रह पनि गर्न सकिन्छ ।’
कार्यक्रममा प्रमुख अतिथि विरही, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गिरी, नेकपा माओवादी केन्द्रका झापा इन्चार्ज राजु आचार्य (अग्नी), नेपाल पत्रकार महासंघ कोशी प्रदेश कमिटीका सदस्य लीलाराज झापाली, महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
पत्रकार ढकाल पुरस्कृत
सोही अवसरमा पूर्वाञ्चल दैनिकमा आवद्ध पत्रकार नरेन्द्र ढकाललाई पूर्वी गर्जन मिडिया प्रालिले १० हजार नगदसहित पुरस्कृत गरेको थियो ।
प्रालिले २ लाखको एकीकृत जनक्रान्ति बलिदान अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । सोही कोषको व्याजबाट प्रत्येक वर्ष एक जना पत्रकार, सहिद र अग्रज योद्वालाई सम्मान गरिने कोषका अध्यक्ष एवम् प्रालिका निर्देशक सुमन सिंह सीले जानकारी दिए ।
पत्रिकाकोे प्रधान सम्पादकमा प्रकाश डुम्रे, सम्पादकमा प्रविण अधिकारी र प्रबन्ध सम्पादकमा सञ्जय सी रहेका छन् ।
निर्देशक सुमन सिंह सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत विरेन सीले र सञ्चाला सम्पादक अधिकारीले गरेका थिए ।
Discussion about this post