मेचीनगर, ३० मंसिर । महेन्द्रद्वार सहकारी संस्थाको ३४ औँ वार्षिक साधारण सभामा विभिन्न विधाका व्यक्तित्वहरु सम्मानित भएका छन् ।
शुक्रबार काँँकरभिट्टा स्थित संस्थाको परिसरमा सम्पन्न सभामा क्रिकेट खेलद्वारा विश्वभरि चिनाउने अन्तराष्ट्रिय खेलाडीउत्पादन गर्ने प्रशिक्षक विरु श्रेष्ठ, २०८० सालको एसईई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सामुदायिक विद्यालय धुलाबारी माविका पुस्कल घिमिरे र कृतीका सुब्बा, मेचीनगर–१ को निजी विद्यालय युनाईटेड अंग्रेजी माविका प्रविण अधिकारी र दक्षिणा धमला विश्वकर्मा, उत्कृष्ट बचतकर्ताहरु विष्णुप्रसाद मैनाली, देवराज प्रसाई, कर्जातर्फ विकास लोहारलाई सम्मान गरिएको छ ।
सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले सम्मान गरेका थिए ।
कार्यक्रममा शिक्षा मन्त्री समेत भइसकेका प्रमुख अतिथि पोखरेलले विश्व साम्राज्यवादले सहकारी समाप्त पारेको बताएका छन् ।
‘उत्पादक क्षेत्र भन्दा पनि अनुपात्दक क्षेत्रमा लगानी भएको छ’, नेता पोखरेलले भने–‘अस्पटताका कारण सहकारीमा समस्या छ । संविधानले नै सामाजिक हिसावले जनतालाई आर्थिकरुपले समाजवादतर्फ लाने उद्देश्यले तीन खम्बे नीति बनाएको हो । तर, सहकारी अभियन्ता, सहकारी सञ्चालक, राजनीति दलहरुले नै यसलाई सही बाटोमा नलगेर दुरुपयोग गरे ।’
उनले सहकारीलाई बलियो बनाउन ३८ वटा कानून निर्माण र ४२ वटा कानून संशोधन गर्न आवश्यक रहेको दावी गरे ।
कार्यक्रममा कोशी प्रदेश सहकारी संघका सचिव भानु दंगाल, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले बचतमा १२ प्रतिशतसम्म बैंकहरुले व्याज दिन नहुने सुझाव राख्दै मानिसहरुमा उद्यममा लगानी गरेभन्दा बैंकमा राखेर व्याज खाने प्रवृत्ति बढेर गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
राज्यले बचतमा ५ प्रतिशत र ऋणको व्याजमा १० प्रतिशत भन्दाबढी दिन र लिन नहुने नियम बनाए सहकारीमा भएका समस्या हल हुने उनीहरुको भनाई थियो ।
कार्यक्रममा सहकारी समन्वय समिति मेचीनगर संयोजक वीपी भट्टराई, समाजसेवी डिल्लीराम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष राजकुमार दाहालले अध्यक्षको प्रतिवेदन र लेखा प्रतिवेदन संयोजक रमेश दाहालले प्रस्तुत गरेका थिए ।
महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष युद्वराज ओलीले र सञ्चालन सञ्चालक समिति सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।
Discussion about this post