काँकरभिट्टा, ३० मंसिर । पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले मेचीनगरका ९ जना ‘क्यान्सर विजेता’लाई सम्मान गरेको छ ।
शुक्रबार अस्पतालले मेचीनगर नगरपालिकाको सभा हलमा नगरपालिका क्षेत्रमा पाठेघर, स्तन, बोनम्यारो लगायतका क्यान्सर भएर पूर्वाञ्चल क्यान्सर अस्पतालमै उपचारपछि निको भएका उनीहरुलाई सम्मान गरेको हो ।
महिलाहरुको पाठेघरको मुखमा क्यान्सर भए वा नभएको पत्ता लगाउन गरिने स्क्रिनिङ (परीक्षण) समेत अस्पतालले निःशुल्क गरिरहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.बीरेन्द्र यादवले जानकारी दिए । उनले अस्पतालले १२ हजार विरामीको स्क्रिनिङ गरिसकेको बताए ।
उनले हरेक पालिकाका जनप्रतिनिधि, स्वयम्सेवकहरुलाई समेत क्यान्सर रोग लागेका विरामीलाई लापरवाही नगर्न र समयमै सम्बन्धित अस्पतालमा स्वास्थ्य जाँच गराउन समेत आग्रह गरे ।
डा. यादवले महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन हरेकले आफ्ना किशोरी छोरीहरुलाई एचभीपी नामक भ्याक्सिन लगाउन सुझाए ।
मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले नगरमा मात्र दैनिक २÷३ जना क्यान्सर लगायतका प्राण घातक विरामी उपचारका लागि सिफारिस लिन आउने गरेका बताए ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले क्यान्सर अस्पताल स्थापनाको चार बर्षमा झापामा २० हजार भन्दा बढीलाई सेवा प्रदान गरेको बताए ।
यसअघि अस्पतालले भद्रपुर, अर्जुनधारा र कनकाई नगरपालिकाका ‘क्यान्सर विजेता’लाई सम्मान गरिसकेको छ ।
झापाका १५ पालिकामध्ये मेचीनगर नगरपालिकासहित चार पालिकाका १४० जना ‘क्यान्सर विजेता’लाई सम्मान गरेको गिरीले बताए ।
Discussion about this post