झापा, २ माघ । बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारीले बह्रदशी गाउँपालिका–१ स्थित भागुडुब्बामा विपन्न समुदायका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरणका साथै उनीहरुलाई मिष्ठान्न भोजन गराइएको छ ।
बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक साकोसको आयोजना तथा मानवीय उद्धार सेवा केन्द्र नेपालको सहकार्यमा १ सय जना भन्दाबढी ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिनुका साथै मिष्ठान्न भोजन गराइएको हो ।
सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत बाह्रदशी–१ मा रहेको जेष्ठ नागरिक भवनमा एक कार्यक्रमको आयोजना गरी झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा कम्बल वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि सांसद लिङ्देनले सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी विपन्न वर्गका नागरिकलाई जाडोमा न्यानो बनाउन कम्बल सहयोग गरिएको सहकारीलाई धन्यबाद दिए । उनले भने,‘सरकारले गर्ने काम एउटा सहकारी संस्थाले गरिरहेको छ । यस पवित्र कार्यलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, यो एक पुण्य काम पनि हो ।’
पुस र माघ महिनामा अत्याधिक जाडो हुने र शीत लहर चल्ने भएकाले जाडो छेक्नका लागि विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो होस् भनेर कम्बल वितरण गरिएको सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताए ।
संस्थाको कार्यक्षेत्र हल्दिबारी, बाह्रदशी तथा कचनकबलका गरिब तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका जेष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण गरिएको उनले बताए ।
उनले सदस्य विरामी हुँदा संस्थाले बिर्तामोडको मनमोहन अस्पताल, कन्काई, ओमसाई तथा नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट हुने बताए । विपन्न परिवारका ज्येष्ठ नागरिकलाई यो जाडोमा न्यानो हुन्छ भनेर कम्बल वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।
कार्यक्रममा प्रमुख अतिथि सांसद लिङ्देन, बाह्रदशी गाउँपालिका–५ का वडाध्यक्ष लोकनाथ संग्रौला, मानवीय उद्धार सेवा केन्द्र नेपालका अध्यक्ष धनबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागतसहित औचित्माथि प्रकाश कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले र सञ्चालन कर्मचारी विजय वस्नेतले गरेका थिए ।
Discussion about this post