मेचीनगर, १२ माघ । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्धुप्रसाद बाँस्तोलाले खुल्ला सीमा नाकाका कारण अपेक्षीत रुपमा राजश्व उठ्न नसकेको बताएका छन् ।
आज मेची भन्सार कार्यालय काँकरभिट्टाले ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको समापन समारोहमा प्रमुख अतिथि समेत रहेका सीडीओ बाँस्तोलाले त्यस्तो बताएका हुन् ।
राजश्व प्रशासन खरो रुपमा जिम्मेवार भएर नत्रिए लक्ष्यमा पुग्न नसकिने उनको भनाई छ । ‘व्यवसायीहरुलाई सीमामा चुनौती छ’, बाँस्तोलाले भने–‘त्यसैले भन्सारले राजश्व अपेक्षीत रुपमा उठाउन सकेको छैन । आयात भन्दा निर्यातमुखी मात्र भएको छ । एक अर्कालाई शंका गर्नु भन्दा सामुहिक रुपमा काम गर्न सके राम्रो हुनेछ ।’
उनले व्यापारलाई सहजिकरण गर्न पनि भारतको दार्जिलिङको डीएमसँग चाँडै कुरा गरेर बजारलाई सहज बनाउने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, पूर्व केन्द्रीय सदस्य केशवराज पाण्डे, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल र भारत पानीट्याङकी कस्टमकी एशिस्टेशन कम्सिनार निमा लामा शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।
सोही अवसरमा भन्न्सारको साताव्यापी कार्यक्रम अन्तरगत स्वास्थ्य, खेलकुद, शिक्षा, कर्मचारी, उद्योगी–व्यवसायी र पत्रकारितामा योगदान पुर्याए वापत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
भन्सारले सीमा नाका र भन्सारसँग सम्बन्धित विषयमा कलम चलाए वापत राष्ट्रिय समाचार समिति (रासस) की झापा सम्वाददाता अम्बिका भण्डारी, जनसंसद् डटकमका प्रधान सम्पादक मुक्ति पौडेल र मेरो मेचीनगर डटकमका प्रधान सम्पादक लक्ष्मी उप्रेतीलाई प्रसंशा पत्रद्वारा सम्मान गरेको छ ।
मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न समारोहको स्वागत भद्रपुर भन्सार कार्यालयका अधिकृत अमित तिवारी र सञ्चालन मेची भन्सार कार्यालयका कर्मचारी विपी कोइरालाले गरेका थिए ।
Discussion about this post