बिर्तामोड, २८ माघ । बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ ।
बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो ।
सोमबार फाइनल हुनेछ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङका अनुसार खुला डबल्स र खुला भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन भइरहेको छ ।
प्रतियोगिता अन्तरगत खुला भेट्रान्स डबल्सको फाइनल प्रवेशका लागि प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले दिपक आङदेम्बे र जीवन बोगटीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, घनेन्द्र लिम्बू र मदन लिम्बूको जोडीले कृष्ण खड्का र विष्णु तामाङको जोडीको सामना गर्नेछ । त्यस्तै, खुला डबल्सतर्फ निश्चल क्षेत्री र पविन लिङथेपको जोडीले विनय चौधरी र लाक्पा शेर्पाको जोडीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
हिमाल चन्द र विवेक कन्दङवाको जोडीले भोजबहादुर गुरुङ र विशाल तामाङको जोडीसँग दोस्रो सेमिफाइनल खेल्नेछ । प्रतियोगिताका खुलातर्फका विजेताले नगद ७० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट २५ सि का वातावरण प्रमुख समेत रहेका कुरुबाङले जानकारी दिए ।
त्यस्तै, दोस्रो हुनेले नगद ४० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् । भेट्रान्सतर्फका विजेताले नगद ३० हजार, दोस्रो हुनेले नगद १५ हजार रुपैयाँ र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।
Discussion about this post