झापा, १४ फागुन । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।
सोमबार ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए ।
भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको संगीतकार उनले बताए ।
दिउँसो ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराजले उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो । गत दशैंमा लडेर उनको टाउकोमा चोट लागेको थियो ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार विहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको विदाइ गर्ने तयारी छ ।
१९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।
आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन् । आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् ।
आचार्यको निधनप्रति संगीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
Discussion about this post