झापा, १४ फागुन । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आत्मनिर्भर बन्न स्वरोजगारमूलक व्यवसाय सुरु गरेका छन् ।
लिड नेपालकी संयोजक लुना लिम्बु (चञ्चला) ले कोशीका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा होटल, फास्फुड कर्नर र सैलुन सेन्टर सञ्चालनमा ल्याएको बताइन् ।
‘दमकमा नमुना यूनिसेक्स सैलुन एन्ड ट्रेनिङ एकाडेमी सञ्चालनमा छ’, चञ्चलाले भनिन्–‘सैलुनबाट १८ जना लैंगिक अल्पसंख्यक साथीले तालिम लिइसक्नु भएको छ । यो सैलुन समुदायका साथीहरुले सञ्चालन गरेका हुन् । तर, तालिम लिन समुदाय बाहिरका पनि आउनु हुन्छ । सैलुनमा पाँच जना प्रशिक्षकले नियमित तालिम दिइरहनु भएको छ ।’
उनका अनुसार मोरङको विराटनगरमा मिलीजुली एन्ड सप्तरंगी खाजाघर र सुनसरीको इटहरीमा रेम्बो फास्टफुड कर्नर सञ्चालनमा ल्याइएको छ । पूर्वका थुप्रै सहर बजारमा उनीहरुले पसल लगायतका स्वरोजगारमूलक व्यवसाय सञ्चालन गरिरहेका छन् ।
झापामा पहिचान लुकाएका समेत गरी नेपालमा २२ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय रहेको उनकोे दावी छ । उनीहरुलाई आत्मनिर्भर बनाउन सीप सिकाउने र रोजगारी सिर्जना गर्ने संस्थाको उद्देश्य रहेको छ ।
समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुप्रति हेर्ने नजर र उनीहरुप्रतिको व्यवहार अपमानजनक रहेको कारण समुदायका अधिकांश व्यक्तिहरु पहिचान लुकाएर बस्नु पर्ने अवस्था रहेको छ । उनीहरुलाई रोजगारीको अवसर नदिइने भएको हुँदा आफै व्यवसाय स्थापनामा लाग्नु परेको चञ्चलाको भनाई छ ।
लिड नेपालले स्थानीय पालिका र दातृ संस्थाहरुसँग मिलेर उनीहरुलाई व्यावसायिक शिप सिकाउने अभियान चलाएको छ । दमक–५ स्थित बेलडाँगी रोडमा सैलुन सञ्चालन गर्न दमक नगरपालिकाले आर्थिक सहयोग गरेकोे छ ।
Discussion about this post