मेचीनगर, १९ फागुन । राष्ट्रिय टिमको रुपमा परिचित संकटा फुटबल क्लब काठमाडौँ झापा गोल्ड कपको पहिलो खेलबाटै बाहिरिएको छ ।
बिर्तामोड स्थित डोमालाल राजबंशी रंगशादामा आजदेखि सुरु झापा गोल्ड कपको उद्घाटन खेलमा सशस्त्र प्रहरीको विभागीय टोली
एपिएफ फुटबल क्लबले संकटालाई टाइब्रेकरमा हराउँदै पहिलो खेलबाट विदा लिनु परेको छ । टाइब्रेकरमा एपिएफले संकटा क्लबलाई ४–२ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।
निर्धारित समयमा दुवै टिमले गोल नगरेपछि टाइब्रेकरबाट खेलको नतिजा आएको हो । टाइब्रेकरमा एपिएफका सुमन श्रेष्ठ, कुलदीप कार्की, फोडे फोफोना र दिपेश धिमालले गोल गरे ।
संकटाका यमनबहादुर पुटवर र चन्दन दासले मात्र टाइब्रेकरमा गोल गरे । संकटाका अजित लामाको प्रहार विपक्षी अञ्जल श्रेष्ठले बचाए । संकटाका मौसम सुब्बाको प्रहार पोस्ट लागेर फर्कियो ।
दुवै टिमको खेल प्रतिस्पर्धात्मक, प्रहारहरु राम्रा थिए । धेरै अवसरहरु सदुपयोग गर्न सकेनन् । उद्घाटन खेलको म्यान अफ दि म्याच एपिएफका गोलकिपर एञ्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाएका छन् ।
भोलिको खेल चर्च वोइज युनाइटेड क्लब काठमाडौँ र नेपाल पुलिसबीच प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ ।
झापा गोल्डकपको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए । उनले निजी जग्गाको रुपमा रहेको डोमालाल राजबंशी रंगशालालाई एकवर्षभित्र सार्वजनिक जग्गाको रुपमा ल्याउन सबैको पहल आवश्यक रहेको बताए ।
झापा गोल्ड कपका अध्यक्ष विनोद वस्नेतले गोल्डकप सफल बनाउन र रंगशाला निर्माण गर्न सबै एकजुट हुनु पर्ने बताए । वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।
Discussion about this post