मेचीनगर, १९ फागुन । मेचीनगर–७, सतिघट्टा स्थित नेपाल–भारतको दशगजामा सशस्त्र प्रहरी र स्थानीय व्यापारीबीच हिजो राति झडप हुँदा सात जना घाइते भएका छन् ।
मेची खोलाको बगरबाट स्थानीय व्यापारीले ल्याएको एक बण्डल कपडा सतिघट्टा सशस्त्र प्रहरी पोष्टका प्रहरीले बरामद गरेपछि दशगजामा राति ८ वजे हानहान हुँदा सशस्त्र प्रहरीका चालक र स्थानीय ६ जना व्यापारी घाइते भएका थिए ।
सो घटनाबाट घाइते हुनेमा मिलन चापागांई, दिपक बातर, दिपा बातर, हरि बातर, बिशेष राजवंशी, अनाह यादव रहेका छन् ।
उनीहरुको मनमोहन सामुदायिक अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइते भएका स्थानीयको छाती, पेट, हात, खुट्टा लगायत शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
त्यस्तै सशस्त्र प्रहरीका चालक दुर्गाबहादुर वस्नेत घाइते भएका छन् । वस्नेतको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनको हात र आँखामा गम्भीर चोट लागेको बताइएको छ ।
सशस्त्र प्रहरी बल २ नं.गण झापाका प्रमुख एसपी कविन्द्र राईले व्यापारीले भारतबाट अवैधरुपमा भन्सार छलेर राति कपडा ल्याउदै गर्दा बरामद गरेको बताए । उक्त सामान गाडीमा ल्याउदै गर्दा ५०–६० जनाको व्यापारीको हुलले चालक र अन्य प्रहरीलाई समेत आक्रमण गरेर समान खोसेपछि दुवै पक्षबीच झडप भएको उनको भनाई छ ।
‘राति अध्यारोमा कल्ले के के ले आक्रमण गरे थाहा भएन’, एसपी राईले भने–‘त्यसको अनुसन्धान भइरहेको छ । बाँकी कुरा केहिदिनमा थाहा भइहाल्छ ।’
स्थानीय व्यापारी र घाइतेका अनुसार सशस्त्र प्रहरीको टोलीले खुकुरी प्रहार गरेको दावी गरेका छन् ।
सशस्त्र प्रहरीको टोलीले स्थानीय व्यापारीलाई खुकुरी प्रहार गरेपछि सबैतिरबाट विरोध सुरु भएको छ । सामाजिक सञ्जालमा सबै वर्गका नागरिकहरुले जनतालाई खुकुरी हान्ने अधिकार सशस्त्र प्रहरीलाई कस्ले दियो भन्दै विरोध गरेका छन् ।
Discussion about this post