झापा, १८ फागुन । एशियन राजमार्ग निर्माणका लागि रुख काट्ने र बाटो सम्याउँने काम शुक्रबारदेखि सुरु भएको छ ।
साँघुरो सडकलाई चार लेन गर्ने उद्देश्य अनुरुप निर्माण सुरु गरिएको एशियन राजमार्गमा आजदेखि रुख काट्ने र बाटो सम्याउने काम सुरु भएकोे ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए ।
एशियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ ।
पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकरभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ रुख आजदेखि काट्न थालिएको उनले बताए ।
उनका अनुसार निर्माण ठेक्का पाएको कम्पनीले दुई महिना भित्रमा काँकरभिट्टादेखि केर्खा सम्मका रुख कटान गरिसक्नुपर्ने छ ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले शुक्रबार विहान धुलाबारीमा पूजापाठ गरी रुख कटान सुरुवात गरिएको बताए ।
एशियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले रुख कटानसँगै सडक विस्तारको काम सुरु भइसकेको बताए । सडक निर्माणसँगै जमिनमुनिका पानीका पाइप र विजुलीको खम्बा हटाइने भएको छ ।
एशियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिव १० अर्बको लगानीमा सम्पन्न हुने गरी एभ्रासकन कालिका जेभीले ठेक्का लिएकोे छ ।
Discussion about this post