झापा, २७ फागुन । रिक्त रहेको राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन यही फागुन २९ गतेका लागि तोकिएको छ ।
राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाको आइतबार बसेको बैठकको सुरुमा नै फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति तोकिएको जानकारी गराएकी हुन् ।
राष्ट्रिय सभा कार्य सञ्चालन नियमावली अनुसार उपाध्यक्ष अर्यालले संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेलाई राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न पनि निर्देशन दिएकी छन् ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेकपा (एमाले) सहितको गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पदमा प्रधानमन्त्री प्रचण्डका भाइ पर्ने नारायण दाहालले उम्मेदवार दिने सहमति भइसकेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको तर्फबाट युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।
नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्नका लागि पहल गरिरहेको थियो । तर, आइतबार बसेको राष्ट्रिय सभा बैठकले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन राष्ट्रिय सभाको क्यालेन्डर अनुसार नै गर्ने गरी फागुन २९ गते मंगलवारका लागि तोकिसकेको छ ।
क्यालेन्डर अनुसार सोमबार राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने कार्य तालिका रहेको छ ।
Discussion about this post