सिलिगुडी, २ चैत । भारत पश्चिम बंगालको सिलिगुडी रेल्वे स्टेसनमा दुर्घटनामा परी झापा भद्रपुर–५ का ५० वर्षीय विष्णु शर्माको मृत्यु भएको छ ।
दुई दिनअघि सिलिगुडीबाट गलगलिया जाने क्रममा ‘कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रेस’ रेल चढ्दा चिप्लिएर घाइते भएका शर्माको आज विहान उपचारकै क्रममा निधन भएको हो ।
भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवालाका अनुसार बुधवार अपराह्न २ बजेतिर सिलिगुढीबाट रेल चढेर भद्रपुरको सीमावर्ती बजार गलगलिया फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए ।
‘गलगलिया आउने क्रममा रेल चढ्दा उहाँ चिप्लिनु भयो’, साहेवालाले भने–‘गुड्न सुरु गरेको रेलले एउटा हात काटिएपछि रेलका सुरक्षाकर्मीले तत्कालै उपचारका लागि नर्थ बंगाल हस्पिटल पुर्याए । उपचारकै क्रममा उहाँको निधन भएको खबर आयो ।’
मृतक शर्माका चार जना छोरा र पत्नी भद्रपुरमा रहेका छन् । उनी भद्रपुर–५ स्थित लक्ष्मी नारायण मन्दिरमा पुजारी थिए । उनी व्यक्तिगत कामले सिलिगुढी गएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको शवलाई भारतमै पोस्टमार्टम जाँच र कानूनी प्रक्रिया पूरा गरेर नेपाल ल्याउने तयारी छ ।
Discussion about this post