मेचीनगर, ३ चैत । बाहुनडाँगी जेसीजले ११ वर्षपछि दोस्रो पटक फुटबल प्रतियोगिता गर्ने भएको छ ।
शनिबार प्रेस क्लब मेचीनगरको कार्यालय इटाभट्टामा बाहुनडाँगी जेसीजले पत्रकार सम्मेलन गरेर यही चैत १५ गतेदेखि २२ गतेसम्म बाहुनडाँगीमा कारगिल शहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज फुटबल प्रतियोगिता हुने जानकारी दिएको हो ।
बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँले बाहुनडाँगी जेसीजको सचिवालय निर्माण र खेलाडी उत्पादन गर्ने उदेश्यले उक्त प्रतियोगिता गर्न लागिएको बताए ।
जेसीजलाई वर्ष २०११ म नै सचिवालय निर्माण गर्न स्थानीय समाजसेवी हेमलाल भारतीले १० धुर जग्गा उपलब्ध गराएको उनको भनाई छ । तर, सचिवालय निर्माण भएको थिएन । यसपटक त्यसको सुरुवात गर्न पनि यो आयोजनाले थप सहयोग पुग्ने बानियाँले बताए ।
बाहुनडाँगीका युवा सुरेश थापा क्षेत्रीको केहि वर्षअघि पाकिस्तानको बोडर कारगिलमा मृत्यु भएको थियो । उनकै स्मृतिमा भारत तारवारी निवासी उनका दाजु रामु थापाले प्रतियोगिता गर्न विजेता, उपविजेता र अन्य पुरस्कारका लागि तीन लाख १० हजार नेपाली रुपैयाँ सहयोग गरेको बानियाँले जानकारी दिए ।
प्रतियोगितामा भारत, इलाम र झापाका ६ वटा टिमले सहभागिता जनाउने छन् । विजेताले एक लाख १ हजार, उपविजेताले ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । अन्य पुरस्कारहरु एक हजारदेखि ५ हजार रुपैयाँसम्म रहेको कार्यक्रम संयोजक समुयल राईले बताए ।
प्रतियोगिता आयोजना गर्न अनुमानित खर्च ५ लाख रुपैयाँ लाग्ने बताइएको छ । बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सहजिकरण कोषाध्यक्ष नित्यानन्द चम्लागाईले गरेका थिए ।
Discussion about this post