काँकरभिट्टा, ५ चैत । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया–२०८०’ अन्तर्गत महिला फुटबल खेलको उपाधि मेचीनगर–४ ले जितेको छ ।
मेचीनगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा मेचीनगर–३ लाई १–० गोल अन्तरले पराजित गर्दै मेचीनगर–४ ले उपाधि हात पारेको हो ।
काँकरभिट्टा माविको खेल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर ४ को तर्फबाट खेल सुरू भएको ४ औं मिनेटमा रोजिन न्यौपानेले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।
अत्यन्तै रोमाञ्चक बनेको फाइनल खेलमा दुवै टिमका खेलाडीले आफुले पाएको अवसरहरू सदुपयोग गर्न सकेनन् । पहिलो हापमा आक्रमक बनेको वडा नम्बर ४ ले दोस्रो हापमा रक्षात्मक खेलेको थियो ।
यता वडा नम्बर ३ ले दोस्रो हापमा आक्रमक खेल्दै थुप्रै अवसरहरू सर्जना गरेको थियो । तर, अवसर सदुपयोग गर्न नसक्दा उपविजेतामा सिमित भयो ।
मेचीनगरका पन्ध्रवटै वडा सम्मेलित महिला फुटबल खेलको उपाधि विजेता मेचीनगर–४ ले नगद ३० हजार नगदसहित ट्रफी प्राप्त गर्यो । यता उपविजेता बनेको मेचीनगर–३ ले १५ हजारमा चित्त बुझायो ।
विजेता तथा उपविजेता टिमलाई भोलि प्रथम मेचीनगर स्पोर्ट्स मेनियाको समापन सत्रमा पुरस्कृत गरिने मेचीनगर खेलकुद विकास समिति सदस्य सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिए ।
आज भएको फाइनल खेलको प्लेयर अफ द म्याच रोजिन न्यौपाने घोषित भइन् । उनले नगद २ हजार सहित ट्रफी प्राप्त गरिन् ।
पुरूष तर्फको फाइनल खेल मेचीनगर–२ का विरूद्ध मेचीनगर–६ काबीच मंगलबार दिउँसो हुने मेचीनगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझाले बताए ।
Discussion about this post