झापा, ६ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बिर्तामोड स्थित बीएण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले यही चैत १२ गते फैसला सुनाउने भएको छ ।
मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति चैत १२ गतेलाई तोकेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।
प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २०७७ असार २१ गते काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।
लगत्तै फेरि उनले नै २०७७ असोज ३० गते चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध अर्को रिट निवेदन पनि दर्ता गरेका थिए ।
रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्च अदालतमा अर्को निवेदन पनि दिएका थिए ।
सर्वोच्च अदालतले यी तीनवटै मुद्दालाई सँगै राखेर सुनुवाइ गर्ने भएकोे छ ।
Discussion about this post