काँकरभिट्टा, १० चैत । बंगलादेशका पारवहन मन्त्री खालिद महम्मद चौधरी आज काँकरभिट्टा हुँदै काठमाडौँ गएका छन् ।
काठमाडौंमा आजदेखि आयोजना हुने नेपाल र बंगलादेशबीच मन्त्रीस्तरीय वार्तामा सहभागी हुन बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पारवहन मन्त्री चौधरी काँकरभिट्टाको स्थलमार्ग हुँदै नेपाल आएका हुन् ।
मन्त्री चौधरीले मेची भन्सार कार्यालयको सुख्खा बन्दरगाहको अवलोकन समेत गरेका छन् । उनलाई मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी र काँकरभिट्टा सुख्खा बन्दरगाहकी प्रमुख अम्बिका सुवेदीले नेपाल र बंगलादेशबीचको पारवहन मार्गको सञ्चालन अवस्था, द्विदेशीय व्यापारका बारेमा जानकारी गराएका थिए ।
उनी नेपाल–बंगलादेशबीचको स्थल पारवहन मार्गको बंगलादेशी नाका बंगलाबन्ध हुँदै भारत आएका थिए । नेपाल आउनुअघि उनले भूटानको फुन्चोलिङस्थित नवनिर्मित सुख्खा बन्दरगाहको पनि अवलोकन गरे ।
कोरोनापछि पूर्वीनाका काँकरभिट्टाबाट नेपाल प्रवेश गर्न चाहने भूटानी नागरिक बाहेक तेस्रो मुलुकका नागरिकलाई भारतले प्रवेशाज्ञा अनुमति दिएको छैन । चार वर्षयता पूर्वी नाका भएर नेपाल आउने उनी पहिलो बंगलादेशी उच्चस्तरीय पर्यटक पनि हुन् ।
शनिबार विहान ९ सदस्यीय प्रतिनिधि मण्डलसहित काँकरभिट्टाबाट नेपाल प्रवेश गर्ने मन्त्री चौधरीलाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी, नेपाल इन्टरमोडल यातायात विकास समिति काँकरभिट्टा सुख्खा बन्दरगाहकी प्रमुख सुवेदी, काठमाडौंस्थित बंगलादेशी दूतावासकी उपप्रमुख इसरात जहान लगायतले स्वागत गरेका थिए ।
Discussion about this post