मेचीनगर, ९ चैत । काँकरभिट्टाबाट पाँच किलोमिटर उत्तर सीमा क्षेत्रबाट भारतीय नागरिकको मोटरसाइकल चढेर अनाधिकृत ढंगले नेपाल प्रवेश गरेका एक नाइजेरियन नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले पक्राउ गरेका नाइजेरियनलाई अनुसन्धान र कारवाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको छ ।
मेचीनगर–४, बाहुनडाँगी स्थित सीमा हुँदै भारतबाट डब्ल्यूबी ७४०७०५८ नम्बरको भारतीय मोटरसाइकलमा पछाडि बसेर नेपाल प्रवेश गरेका नाइजेरियन नागरिक ३२ बर्षीय अनेकोर सिमोन ओगुचुकुलाई सीमामा तैनाथ सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले विहीबार नियन्त्रणमा लिएका थिए ।
नाइजेरियन नागरिकलाई अनाधिकृत रुपमा नेपाल घुसपैठ गराउन मद्दत गरेका भारतीय नागरिक ३० बर्षीय सनम राईलाई समेत पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वाटर कार्यालय चन्द्रगढीका प्रमुख कविन्द्र राईले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि विहीवार अध्यागमन कार्यालय काँकरभिट्टामा बुझाइएको थियो ।
पक्राउ परेका नाइजेरियन नागरिकको साथबाट भारतीय चार हजार ५००, दुई थान मोवायल, एक थान एनआइसी एसियाको एटीएम र नाइजेरियन पासपोर्ट बरामद भएको जनाइएको छ । भारतीय नागरिक राईको साथबाट एक थान मोबाइल, भारतीय बैंकको एटीएम र भारतीय रु एक हजार ४२० फेला परेको छ ।
अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख मोहन पनेरुले अनाधिकृत रुपमा नेपाल प्रवेश गरेका नाइजेरियन नागरिक र उनलाई नेपाल प्रवेश गराउन सहयोग पुर्याएका भारतीय नागरिक गरी दुबै जनालाई आवश्यक कारवाहीका लागि काठमाडौंस्थित अध्ययागमन विभागमा पठाइएको जानकारी दिए ।
‘अध्यागमन विभागबाटै आवश्यक अनुसन्धान र कारवाहीही हुने भएकोले उनीहरुलाई काठमाडौं पठाइसकेका छौँ’–पनेरुले भने । पक्राउ परेका नाइेरियन नागरिकको प्रवेशाज्ञा (भिसा)को म्याद समेत गुज्रिसकेको पाइएको उनले बताए ।
Discussion about this post