झापा, १२ चैत । सर्वोच्च अदालतले सोमबार बिर्तामोड स्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।
आज न्यायाधीशहरू डा.कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पु¥याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ’, सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने, ‘आदेशको प्रति हामीले पाइसकेका छैनौं । निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिन्छ । विस्तृत विवरण त संक्षिप्त आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि थाहा होला ।’
मेडिकल व्यवसायसँगै राजनीतिमा लागेका दुर्गा प्रसाईले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद थियो ।
आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिट जारी गरेको छ ।
Discussion about this post