धुलाबारी, २० चैत । ६७ औँ राष्ट्रिय सहकारी स्थापना दिवसको अवसरमा भानु बहुमुखी सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरसहित रक्तदान कार्यक्रममा ४३५ जनाले सेवा लिएका छन् ।
धुलाबारी पश्चिम बस स्टेण्ड छेउ संस्था परिसरमा आयोजित रक्तदान कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालसहित ११४ जनाले रक्तदान गरेको संस्थाका कोषाध्यक्ष शेखर गुरागाईले जानकारी दिए ।
त्यस्तै निःशुल्क स्वास्थ्य शिविरमा ३२१ जनाले उपचार सेवा लिएको उनले बताए । स्वास्थ्य शिविरमा डाक्टर पिताम्बर ठाकुर र पोषणरमण त्रिपाठी लगायतले विरामीहरुलाई उपचार सेवा प्रदान गरेका थिए ।
रक्तदान र स्वास्थ्य शिविरमा नेपाल रेडक्रस सोसाइटी भद्रपुर, ठाकुर पोलिक्लिनिक बिर्तामोड र आम्दा मेची अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।
शिविरमा ईसीजी, ब्लड टेष्ट, ल्याव टेष्ट, सुगर, प्रेसर लगायतका उपचार सेवा तथा औषधिहरु पनि निःशुल्क प्रदान गरिएको गुरागाईले बताए ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्रिय सहकारी दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष खनालले स्वास्थ्य जीवन विताउन मानिसले व्यायम गर्न आवश्यक रहेको बताए । उनले अब वडा कार्यालयले आगामी बैशाखदेखि वडामा व्यायमशाला स्थापना गरिने बताए ।
कार्यक्रममा डा. पिताम्बर ठाकुर, डा.पोषणरमण त्रिपाठी, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक रोहित शर्मा लगायतको उपस्थिति रहेको थियो ।
२०५७ सालमा स्थापना भएको संस्थाले हालसम्म सामाजिक क्षेत्रमा सक्रियरुपमा काम गर्दै आएको छ । संस्थाले कृषि क्षेत्रमा सक्रिय शेयर सदस्य, ज्येष्ठ नागरिकलाई सम्मान, सदस्य शिक्षा कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा वितरण लगायतका कार्यहरु गरिरहेको छ ।
भानु बहुमुखी सहकारी संस्थाका अध्यक्ष गोपालप्रसाद चुडालको अध्यक्षता एवम् स्वागत रहेको कार्यक्रमको सञ्चालन व्यवस्थापक चन्दा सिटौलाले गरेकी थिइन् ।
Discussion about this post