मेचीनगर, २१ चैत । राष्ट्रिय समाचार समिति (रासस) झापाकी समाचारदाता अम्बिका भण्डारी मेची उद्योग बाणिज्य संघद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’बाट सम्मानित भएकी छिन् ।
पत्रकार भण्डारीलाई संघको १९ औं साधारणसभाको अवसरमा धुलाबारीमा आज आयोजित कार्यक्रममा नगद २१ हजार राशी र सम्मान पत्रले पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी उद्योग बाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले पत्रकार भण्डारीलाई सम्मान गरेका थिए ।
राससको झापा कार्यालय प्रमुखको समेत जिम्मेवारी समालेकी भण्डारी दुई दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । लोकतन्त्र पोस्ट, जनसंसद् र पूर्वाञ्चल दैनिकमा उनी कार्यरत थिइन् ।
संघले २०६९ सालदेखि आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पहिलो पुरस्कार भद्रपुरका अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीले पाएका थिए ।
सोही अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा एम्बुलेन्स चालक मिनबहादुर खड्का (कुमार)लाई नगद १५ हजारसहित सम्मान पत्रले पुरस्कृत गरिएको छ ।
Discussion about this post