मेचीनगर, २६ चैत । खेलकुदलाई प्रोत्साहन, पर्यटन र संस्कृतिलाई जर्गेना गर्ने उदेश्यले यहि चैत ३० गतेदेखि आगामी बैशाख १६ गतेसम्म ‘बाहुनडाँगी महोत्सव’ हुने भएको छ ।
आज बाहुनडाँगी युवा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा यहि चैत ३० गतेदेखि आगामी बैशाख १६ गतेसम्म ‘बाहुनडाँगी महोत्सव’ हुने जानकारी दिएको हो ।
बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवनकुमार मोतेले खेलकुदमा लगानी गरिरहेको क्लबले खेलकुदलाई प्रोत्साहन गर्ने बताए ।
वि.सं.२०४० सालमा स्थापना भएको क्लबले संस्थापक अध्यक्ष स्व.फन्दासिंह पाण्डेको स्मृतिमा फुटबल प्रतियोगिता समेत आयोजना गरिसकेको छ ।
करिव ३० देखि ३२ लाखसम्म खर्च अनुमान गरिएको महोत्सवबाट आएको नाफाले बाहुनडाँगीमा चाँडै हुने गोल्डकपका लागि तयारी गरिएको अध्यक्ष मोतको दावी छ । आयोजकका अनुसार क्लबमा हाल ९९ जना सदस्य रहेका छन् । अब नयाँ सदस्य पनि थप्ने योजना रहेको छ ।
बाहुनडाँगी युवा क्लबले बाहुनडाँगीमा सम्पन्न कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोश्रो जेसीज फुटबल प्रतियोगितामा सहभागी भई च्याम्पियन बनेको थियो ।
स्थानीय उत्पादन र कृषि उपजलाई समेत प्राथमिकतामा राख्दै मेलामा कृषि र पर्यटनसँग सम्बन्धित स्टलहरु राखिने उनले बताए ।
उनले महोत्सवमा हस्तकला, चित्रकलालाई समेत टेवा पुग्ने गरी १५ देखि २० वटासम्म स्टल राखिने बताए ।
राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने महोत्सवमा कलाकारहरु जोन चाम्लिङ, लाहुरे, प्रिती आले मगर, रचना रिमाल, एलिना चौहान, नविनके भट्टराई, सविन राई लगायतले प्रस्तुति दिने आयोजकको भनाई छ । महोत्सवमा २५ हजार भन्दा बढी अवलोकनकर्ता सहभागी गराउने लक्ष्य रहेको छ ।
बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवनकुमार मोतेको अध्यक्षता, सञ्चालन सचिव दिवश पौडेलले गरेको पत्रकार सम्मेलनमा क्लबकी सहसचिव सविता कुँवर, कोषाध्यक्ष ऐश्वर्या सुवेदी, बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँ लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post