झापा, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ ।
अहिलको व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपाले काठमाडौँ स्थित भृकुटीमण्डपमा भेला भएर शक्ति प्रदर्शन गरेको हो ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन सुरु गरेको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका ४० बुँदे माग सरकारसँग पेश गरेको छ ।
राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शनको पूर्वसन्ध्यामा सोमबार भृकुटी मण्डपबाट गौशालासम्म पैदलयात्रा गर्दै गणतन्त्रको प्रतिकात्मक पुत्ला जलाएको थियो ।
प्रदर्शनमा सहभागीहरुले निषेधित क्षेत्र तोड्न सक्ने भएकाले काठमाडौँमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा काठमाडौँमा शक्ति प्रदर्शन गरिएको छ । प्रदर्शनमा देशभरिका केन्द्रीय, प्रदेश र स्थानीय तहसम्मका नेता, कार्यकर्ता र सांसदहरु सडकमा उत्रिएका छन् ।
Discussion about this post