बुद्धशान्ति, १५ बैशाख । बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
ध्रुुबतारा स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
आयोजकका लागि खेलको १७ औँ मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रस पासमा डि–बक्समा अनमार्क रहेका थापाले गोललाई पोष्टको दिसा दिएका थिए ।
खेलको ७० औँ मिनेटमा मैदानको मध्यभागबाट सिंगल खेल्दै आयोजक टिमका प्रदीप बुढाथोकीले अग्रता दोब्बर बनाए । विपक्षी खेलाडी बिट भइसकेको समयमा बुढाथोकीले सुन्दर गोल गर्दै आयोजकको जित सुनिश्चित पारेका थिए ।
खेलको इन्ज्युरी समयमा ध्रुुबताराका सञ्जय धिमालले सान्त्वना एक गोल फर्काए पनि जितका लागि त्यो पर्याप्त हुन सकेन । अनमार्क धिमालले वान टुवानको स्थितिमा गोल फर्काएका थिए ।
खेल अवधिभर आयोजक आदर्शले ध्रुुबतारामाथि दवाब कायम राखेको थियो । ध्रुुबताराले निर्धारित ८० मिनेटको खेलमा विपक्षी टिमविरुद्ध खासै मुुभ बनाउन सकेको थिएन । खेलको ४५ औँ मिनेटमा ध्रुुबताराका रजिन माझीले गरेको फ्रि किक आयोजकका गोल रक्षक उपेन्द्र लुहागुनले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको २३ औँ मिनेटमा आयोजक आदर्शका उमेश याङवाले दिएको पासलाई बुढाथोकीले गोल गर्न सकेनन् । उनको प्रहार विपक्षी गोलरक्षक आयुश लिम्बुले नियन्त्रणमा लिए ।
खेलको म्यान अफ द म्याच आयोजक आदर्श युवा क्लबका पहिलो गोलकर्ता थापा घोषित भए । उनले नगद तीन हजार रुपैंयाँ पुरस्कार पाए ।
भोलिको खेल बिर्तामोड युनाइटेड एफसीले भारतको नर्थ बंगाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल र भारतका आठ वटा टिमको सहभागिता रहेको छ ।
२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो वर्ष तेस्रो पटक भएको क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले लामो समय स्थगित भएको प्रतियोगिता सुरु गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले आगामी बर्षदेखि प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै गाउँपालिकाले सहयोग जारी राख्ने बताए ।
Discussion about this post