काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले झापाको पत्रकारिता पुस्तकको लोकार्पण गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित उक्त पुस्तक प्रधानमन्त्री प्रचण्डले शुक्रबार काठमाडौंमा विमोचन गरेका हुन् ।
नेपाल पत्रकार महासंघको राष्ट्रिय सभागृहमा आयोजित २७औं महाधिवेशन उद्घाटन समारोहमा झापाको पत्रकारिता (आरम्भदेखि ०४०) पुस्तकको विमोचन गरिएको हो ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पुस्तकमा झापाको पत्रकारिताको इतिहासको दस्तावेजीकरण, ०४० सम्मका अग्रज पत्रकारहरुको परिचय, महत्वपूर्ण अभिलेख, महासंघको हाल सम्मका कार्यसमितिको विवरण लगायतका विषय समेटिएको छ ।
कभरसहित २७६ पृष्ठको पुस्तकमा अग्रलेख, अन्तरबोध खण्ड, संस्मरण÷लेख खण्ड र अभिलेख खण्डमा इतिहासका विविध विषय समेटिएको छ ।
प्रधानमन्त्री प्रचण्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानाले शुभकामना व्यक्त गरेका थिए ।
पुस्तकको सम्पादक अग्रज पत्रकार गोपाल गिरी र राजबाबु शंकर रहेका छन् । पुस्तकको प्रकाशन सहयोगी बिर्तामोड नगरपालिका रहेको छ ।
Discussion about this post