मेचीनगर, २१ बैशाख । ग्रामीण क्षेत्रकी महिला खीमा शिवाकोटीले भनिन्–‘यो तालिमले मलाई सधैँ घरमा भात पकाउने, गाईलाई घाँस खुवाउने आज माइक्रोफोन समाएर बोल्न सिकायो ।’
मेचीनगर–९ को थोप्लेविरान महिला कृषि सहकारी संस्थाले आयोजना गरेको तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिममा शिवाकोटीले निर्धक्क भएर यसो भनेकी हुन् ।
उनका अनुसार महिलाहरुको काम प्रायः घरको काम के हुन्छ, त्यही भात पकाउने, गाईलाई घाँस खुवाउने, जंगल गएर दाउरा ल्याउने, घाँस काट्ने । तर, यो ३ दिनको तालिममले माइक्रोफोन समाएर बोल्न सिकाएको छ ।
अर्की तालिममा सहभागी दुर्गा राउतले ग्रामीण क्षेत्रका महिलाहरुलाई यस्तो तालिमले क्षमता विकासका साथै व्यवसायीक बनाउन मद्वत मिल्ने बताइन् । ‘म पनि बोल्न सिके, तपाईहरु पनि यस्तो तालिम लिएर सक्षम बन्नुहोस्’ सुनिता विष्टले भनिन्–‘यो तालिमले क्षमता अभिवृद्वि गरेको छ । सिकेको सीपलाई व्यवहारमा लागू गर्नेछु ।’
प्रायः तालिममा सहभागी सबै महिलाहरुको एउटै धारणा छ तीन दिन कम्ती भयो । एक हप्तादेखि १५ दिनसम्म भएको भए झन राम्रो हुने प्रतिक्रिया दिएका थिए ।
संस्थाले मेचीनगर–९ नम्बर वडा कार्यालयको सहयोगमा ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरेर थोप्लेविरान सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम गरेको थियो । तालिम यही बैशाख १९ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको हो ।
महिलाहरुको व्यक्तित्व तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको संस्थाकी उपाध्यक्ष जानुका ओलीले बताइन् । उनले आज समापनको अवसरमा तालिमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
समापन कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ९ का वडाध्यक्ष कञ्चन तामाङ रहेका थिए । उनले तालिमबाट सिकेको सीपले लोभ लाग्दो सामज निर्माणमा टेवा पुग्ने छ भन्ने आशा व्यक्त गरेका थिए । तलिममा सहभागीहरुलाई वडाध्यक्ष तामाङले प्रमाणपत्र वितरण गरेका थिए ।
यसअघि बैशाख १९ गते कार्यक्रमको औपचारिक उद्घाटन वडा नम्बर ९ की वडा सदस्य अरुणा राजबंशीले गरेकी थिइन् । तालिममा संस्था अन्तरगतका दश वटा कृषक समुहका ५÷५ जना गरी ५० जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई पत्रकार अम्बिका भण्डारी र साहित्यकार मीरा काफ्ले पोखरेलले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष तामाङ, प्रशिक्षार्थीहरु खीमा शिवाकोटी, दुर्गा राउत, सुनिता विष्ट लगायतले बोलेका थिए । कार्यक्रममा वडा नम्बर ९ की वडा सदस्य सुस्मा डोली कार्कीे, थोप्लेविरान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्ण कोइराला लगायतको उपस्थिति रहेको थियो ।
थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बरकुमारी प्रधान (मञ्जु) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन व्यवस्थापक पवित्रा आचार्य दाहालले गरेकी थिइन् ।
Discussion about this post