बिर्तामोड, ६ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने बताएका छन् ।
आजदेखि विर्तामोडको बसपार्कमा सुरु चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले चलचित्र क्षेत्रको समृद्धिका लागि चलचित्र विकास बोर्ड बनाउने बताएका हुन् ।
कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी रहेको कोशी प्रदेशसँग चलचित्र छायाङ्कनका लागि नेपाली र भारतीय चलचित्रकर्मीलाई आकर्षण गर्न सक्ने सामथ्र्य उनको जोड थियो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र ‘इन्डोर’ छायाङ्कनस्थल निर्माण गर्न बजेट छुट्याउने आश्वासन दिए । मौलिक कला र संस्कृतिलाई जगेर्ना र पर्यटकीय प्रवद्र्धनमा टेवा पुर्याउने चलचित्र निर्माण गर्न उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र मनोरञ्जन प्रदान गर्ने माध्यम मात्र नभएर २१औँ शताब्दीमा देशको राष्ट्रिता, कला र संस्कृतिको पहिचान बोक्ने शक्तिशाली माध्यम भएको दावी गरे ।
यही जेठ ११ गतेसम्म सञ्चालन हुने चलचित्र महोत्सवको आयोजना कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको हो । यसको व्यवस्थापन कोशी चलचित्रकर्मी संघले गरेको छ ।
महोत्सवमा यस प्रदेशका भाषाभाषी र जातजातिको मौलिक चलचित्रहरु, चलचित्र सम्बन्धी कार्यशाला, गोष्ठी र सांस्कृतिक झाँकी प्रस्तुत हुने छन् ।
बिर्तामोड, विराटनगर, इटहरी लगायत शहरमा छानिएका चलचित्रहरु महोत्सवमा प्रदर्शन गरिने चलचित्रकर्मी संघ कोशी प्रदेश समितिका अध्यक्ष केवल तामाङले जानकारी दिए ।
चलचित्र महोत्सवको समापन भने विराटनगरमा हुने महासचिव रमेश तिवारीले बताए ।
Discussion about this post