मेचीनगर, ६ जेठ । जल तथा मौसम विज्ञान विभागले झापाको बिरिङ र निन्दा खोलामा बाढी मापन गर्ने पूर्व सूचना प्रणाली जडान गरेको छ ।
पूर्व पश्चिम राजमार्गमा बनेको पुलमा जडान गरिएका उक्त उपकरणले बाढी आउनु पूर्व नै जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताए ।
यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । विभागको प्राथमिकता प्राप्त नदी जोखिम न्यूनीकरण आयोजना मार्फत पूर्वपश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण जडान कार्य धमाधम भइरहेको उनले जानकारी दिए । मोरङ जिल्लाको बक्राहा नदीमा पनि यस्तै प्रणाली जडान भएको छ ।
‘उपकरण जडान गर्ने काम भइसक्यो’,उनले भने–प्रणालीमार्फत आउने जानकारीलाई विभागको वेबसाइटमा राख्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने काम चाँडै गर्नेछौं ।’
झापामा कनकाई, बिरिङ, निन्दा, मेची, रतुवा र मावा नदीको बाढीले वर्षेनी ठूलो क्षति पुर्याउँदै आएको छ । कनकाईमा जडान गरिएको उपकरणले दिने जानकारीका आधारमा नदी आसपासका बासिन्दालाई सतर्कताका लागि मोवाइल एसएमएस सन्देश पठाउने गरिएको छ ।
‘अब बिरिङ र निन्दा नदीको आसपास तटीय क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई पनि नदीको जलसतह बढेको जानकारी एसएमएसबाट बेलैमा दिने व्यवस्था गर्दैछौं’, उनले भने–‘यसो भएमा बाढीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सघाउ पुग्छ । जोखिममा रहेका समुदाय सुरक्षित हुने छन् ।’
Discussion about this post