मेचीनगर, ६ जेठ । मेचीनगर नगरपालिकाकले लागूपदार्थ जन्य वस्तुको प्रयोग, नियन्त्रण तथा सचेतना अभिबृद्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाकको सभा हलमा जेठ २ गतेदेखि ७ गतेसम्म आयोजना गरिएको लागूपदार्थजन्य वस्तुको प्रयोग, नियन्त्रण तथा सचेतना अभिबृद्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रतिनिधिमुलक रुपमा नगरको १५ वटै वडाका युवाहरुको सक्रिय सहभागिता रहेको थियो । समापन कार्यक्रममा मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले मेचीनगर लागूपदार्थ दुव्र्यशनीको बिषयमा गम्भिर रहेको बताए ।
उनले यसलाई समुदायस्तरबाटै निर्मुल पार्न विभिन्न कार्यक्रमहरु अघि सारिएको बताए । यस्ता तालिमले समाजमा युवामाझ चुनौतीको रुपमा बढ्दै गइरहेको लागूपदार्थजन्य वस्तुको प्रयोग र नियन्त्रणमा टेवा पुग्ने विश्वास लिइएको उनको भनाई छ ।
कार्यक्रममा उपमेयर मीना पोखरेल उप्रेतीले तालिममा सक्रिय सहभागी बनेका प्रशिक्षार्थीहरुले आ–आफ्नो वडा तथा समुदायमा लागू पदार्थजन्य वस्तुको प्रयोग तथा नियन्त्रणका लागि सचेतना जगाउँनु पर्ने बताइन् ।
उनले दक्ष प्रशिक्षकहरुबाट तालिममा सिकाईएका र जानकारी दिइएका बिषयहरु समुदायमा पुर्याउन प्रशिक्षकहरुलाई आग्रह गरिन् ।
तालिममा सहभागीहरुलाई मेचीनगरका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सामाजिक अभियन्ताहरु सोमराज ढकाल, गोविन्द न्यौपाने लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए ।
Discussion about this post