मेचीनगर, २२ जेठ । सुपारी खेती गर्ने किसानलाई मेचीनगर नगरपालिकाले खेती विस्तारका लागि प्रोत्साहन कार्यक्रम ल्याएको छ ।
नगरपालिकाले सुपारी खेती गर्ने किसान, किसान समुहलाई ८० प्रतिशत अनुदान मार्फत नगर क्षेत्रमा सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रम ल्याएको हो ।
मेचीनगरसहित जिल्लाको अन्य पालिकामा समेत राम्रो नगदेवालीको रूपमा रहेको सुपारी खेतीतर्फ किसानलाई आकर्षित गर्दै त्यसतर्फ प्रोत्साहन गर्न नगरपालिकाले बजेट विनियोजन नै गरेर सहयोग गरेको छ ।
किसानसँग प्रत्यक्ष जोडिएर उनीहरूको आर्थिक स्तरोन्नतिमा थोरै भएपनि टेवा पु¥याउने लक्ष्यसहित नगरपालिकाले कृषि क्षेत्रमा लगानी गरिरहेको मेयर गोपालचन्द्र बुढाथोकीले बताए । सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रम पनि रहेको उनको भनाइ छ ।
‘किसानलाई उत्पादनमूलक क्षेत्रमा जोडेर आत्मनिर्भर बनाउन सकिन्छ’, बुढाथोकीले भने–‘अनि मात्रै समयमा कृषि क्षेत्र र किसान वर्ग जोगिने छन् । यसतर्फ स्थानीय सरकार सचेत रहेको छ ।’
नगरपालिकाले सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रम अन्तर्गत मेचीनगर–१ को बासे स्थित मेची कृषक सुपारी समूहलाई ८० प्रतिशत अनुदान कार्यक्रममार्फत नगद दुई लाख रूपैयाँ विनियोजन गरेको छ ।
मेची कृषक किसान समुहले उक्त कार्यक्रम आजबाट सुरू गरेको छ । उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख बुढाथोकीले गरे ।
कार्यक्रममा सुपारी खेतीका अभियन्ता निलकण्ठ तिवारी, मेची कृषक सुपारी समूहका अध्यक्ष रन्तबहादुर कार्की, उपाध्यक्ष खड्गबहादुर राई लगायत अन्य पदाधिकारी तथा किसानहरूको सहभागिता रहेको थियो ।
बेर्ना उत्पादन कार्यक्रमका लागि मेची कृषक किसान समुहसँगै मेचीनगर–९ र १२ का किसानलाई आर्थिक सहयोग उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
उत्पादन भएको सुपारीको बिरुवा सहुलियत मुल्यमा मेचीनगरका किसानलाई नै आवश्यकताका आधारमा उपलब्ध गराइने मेयर बुढाथोकीको भनाई छ ।
Discussion about this post