झापा, २१ जेठ । सिक्किम राज्यसभाको ३२ सिटमध्ये ३१ सिट सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले जितेको छ ।
आफ्नो दललाई बहुमत दिलाएसँगै पीएस गोलेका रूपमा समेत परिचित प्रेमसिंह तामाङ दोस्रो कार्यकालका लागि समेत मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
सिक्किममा अढाई दशक शासन गरेको पवन चाम्लिङको दलले यसपटकको विधानसभा निर्वाचनमा पनि नमिठो हार व्यहोर्नु पर्यो । सन् २०१९ को निर्वाचनमा ३२ मध्ये १५ सिट चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फोरम एसडीएफले जितेको थियो ।
यसपटक २ वटै निर्वाचन क्षेत्रबाट चाम्लिङ पराजित मात्रै भएनन् उनको दलले अरु १४ सिट गुमायो । एसडीएफको १४ सिट खोस्ने दल हो सिक्किम क्रान्तिकारी मोर्चा । यसका कमाण्डर हुन् प्रेमसिंह तामाङ । आफ्नो राजनीतिक जीवन एसडीएफबाटै सुरुवात गरेका तामाङले कालान्तरमा चाम्लिङप्रति असन्तुष्टि जनाउँदै एसकेएम खडा गरेका थिए ।
सिक्किम राज्यसभाको ३२ मध्ये ३१ सिट एसकेएमले जितेको छ । आफ्नो दललाइ बहुमत दिलाएसँगै तामाङ दोस्रो कार्यकालका लागि समेत मुख्यमन्त्री बन्ने पक्का भएको छ । सिक्किममा दुई पटक मुख्यमन्त्री बन्न लागेका तामाङ को हुन् त ?
५६ वर्षीय तामाङको छवि कुशल प्रशासक, अब्बल संगठक र असल समाजसेवीको रुपमा स्थापित छ । उनको दलले बहुमत प्राप्त गर्नुमा तामाङको व्यक्तिगत र व्यवसायिक छवि कारक रहेको जानकारहरु बताउँछन् ।
सन् १९६८ फेब्रुअरी ५ मा जन्मिएका तामाङले सरकारी शिक्षकमार्फत आफ्नो करियर सुरुवात गरेका थिए । कालु सिंह तामाङ र धनमाया तामाङका छोरा प्रेमले दार्जिलिङबाट आफ्नो उच्च शिक्षा हासिल गरेका थिए । सन् १९९० देखि सन् १९९३ सम्म सरकारी शिक्षकका रूपमा कार्यरत प्रेमले तीन वर्ष अध्यापन गराए ।
त्यसपछि उनको रूचि राजनीतितर्फ अघि बढ्यो । सन् १९९४ मा उनले चाम्लिङसँगै मिलेर एसडीएफ गठन गरे । २६ वर्षको उमेरमा सांसद बनेका तामाङ २० वर्षसम्म चाम्लिङकै साथमा थिए । चाम्लिङले २५ वर्ष शासन गर्दा तामाङ पनि १५ वर्षसम्म मन्त्री भए ।
सन् २०१३ मा उनले चाम्लिङसँग असन्तुष्टि जनाउँदै नयाँ दल गठन गरे । सन् २०१४ को निर्वाचनमा उनको दलले १० सिट जित्यो । सन् २०१७ मा गाइ वितरण कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा उनलाई जेल चलान गरियो ।
एक वर्षसम्म जेलमा रहेका तामाङले सन् २०१९ मा आफ्नो दललाइ १७ सिट जिताए । पछि एसडीएफका ४ सांसद आफ्नो दलमा भित्र्याउँदै मुख्यमन्त्री समेत बन्न सफल भए ।
सन् १९९४ मा उनी पूर्णकालीन रुपमा एसडीएफमा सक्रिय भएका थिए । त्यसअघि उनलाई एसडीएफको युवा संगठनको उपाध्यक्ष बनाइएको थियो । उनी २६ वर्षको उमेरमा सांसद भएका थिए । चाङकुङबाट उनी राज्यसभामा चुनिएका थिए ।
सन् १९९४ देखि सन् १९९९ सम्म उनी पशुपालन मन्त्री भए । सन् १९९९ मा चाङकुङबाटै सांसद चयन भएपछि उनले २००४ सम्म उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाले । सन् २००४ को चुनावमा तामाङले भारतीय राष्ट्रिय कंग्रेसका सतिश मोहन प्रधानलाई हराए ।
त्यसपछि उनले सन् २००९ सम्म आवास मन्त्रालय सम्हाले । सन् २००९ मा भएको राज्यसभा निर्वाचनमा उनले भारती कंग्रेसका अरूण कुमार सिंहलाई पराजित गरे । त्यसपछि उनलाई उद्योग विभागको अध्यक्ष प्रस्ताव गरेपनि तामाङले त्यसमा रूचि देखाएनन् ।
सन् २०१४ सेम्टेम्बर ६ मा उनले एसडीएफबाट राजीनामा दिए । त्यसपछि उनले सिक्किम क्रान्तिकारी मोर्चा गठन गरे । सन् २०१४ को चुनावमा तामाङको दल एसकेएमले ३२ मध्ये १० सिटमा जीत हात पा¥यो ।
सन् २०१९ को चुनावमा तामाङले २५ वर्ष सिक्किमा शासन गरेका चाम्लिङको शासन अन्त्य गरे । सन् २०२४ को चुनावमा तामाङले चाम्लिङको दल एसडीएफबाट १४ सिट खोस्दै एसकेएमलाइ अत्यधिक बहुमत दिलाए ।
यो बहुमत तामाङले कामकै बलमा दिलाएका हुन् । कल्याणकारी योजना, महिला तथा विपन्नहरुका निम्ति विभिन्न सुविधा र विकासमा सबैको सहभागिता सुनिश्चित गरेर तामाङले एसकेएमप्रति मतदातालाई आकर्षित गर्न सफल भएका हुन् ।
भाजपासँग चुनावी तालमेल गर्ने प्रारम्भिक रणनीतिका कारण उनलाई केन्द्रबाट बजेट मामिलामा निकै सहयोग समेत भएको थियो । तर सिट बाँडफाँट सन्तोषजनक नभएपछि चुनावको सम्मुखमा भाजपा र एसकेएमबीचको तालमेल टुट्यो ।
पार्टीलाई अत्यधिक बहुमत दिलाएका तामाङ सिक्किमको आकर्षण बनेका छन् । यद्यपी उनले सार्वजनिक रूपमै दुई कार्यकालभन्दा बढी मुख्यमन्त्री नबन्ने उद्घोष गरिसकेका छन् । ‘म नेतृत्व विकासमा विश्वास गर्छु । दुइ कार्यकालभन्दा बढी मुख्यमन्त्री बन्ने छैन दलको अर्को नेतालाई यो जिम्मेवारीका अवसर प्रदान गर्नेछु’ उनले प्रतिवद्धता जनाएका थिए ।
(एजेन्सीबाट)
Discussion about this post