मेचीनगर, २१ जेठ । आम नागरिकलाई आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना दिने उदेश्यले यहाँको एउटा नवगठित समितिले मेचीनगर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
पछिल्लो समय मेचीनगरमा आत्महत्याको घटनाहरु लगातार घटेपछि स्थानीय तथा सरोकारवाला संस्थाहरुको एकभेलाले सामुदायिक मानसिक स्वास्थ्य सरोकार समिति गठन गरेर सक्रिय भएको छ ।
त्यहि समितिले आइतबार मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेतीलाई आत्महत्या न्यूनीकरणका कार्यक्रम ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
समितिका संयोजक देबेन्द्र खरेलको नेतृत्वमा उपमेयर उप्रेतीलाई बुझाइएको ज्ञापन पत्रमा मेचीनगर क्षेत्रमा आत्महत्याको दर वर्षेनी बढिरहेको र नागरिकमा भयावह त्रास व्याप्त रहेको स्मरण गराइएको छ ।
आत्महत्या जस्तो संवेदनशील समस्याका विषयमा सामाजिक जिम्मेवारीबोध गरिदिन आग्रह गर्दै समितिले रोकथाम गर्न सकिने कार्यक्रमहरुको सुझाव पेश गरेको थियो ।
समितिको सुझावमा सामुदायिक स्वास्थ्य केन्द्रमार्फत मनोचिकित्सक सेवा दिन सकिने, सार्वजनिक सचेतना अभियान सञ्चालन गर्न सकिने, तनाव व्यवस्थापन सम्बन्धी कार्यशाला गर्न सकिने, टोल टोलमा पुगेर अभिभावक तथा किशोरकिशोरीलाई सामाजिक तथा पारिवारिक जिम्मेवारीका बारेमा काउन्सिलिङ गर्न सकिने, संकटमोचन टोलीहरु खटाउन सकिने, विद्यालयहरुमा कार्यक्रम गर्न सकिने र चौबीसै घण्टा परामर्श एवम् सहायता उपलब्ध हुने हेल्पलाइन सेवा प्रदान गर्न सकिने उल्लेख गरिएको छ ।
समितिको ध्यानाकर्षणलाई उपमेयर उप्रेतीले सकारात्मक रुपमा लिएकी छन् र आवश्यक कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
समितिको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलाई भेटेर नगरमा आत्महत्याका घटना भयावह रुपमा बढिरहेको विषयमा चिन्ता व्यक्त गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पनि समितिको सुझाव मननीय रहेको जनाउँदै नगरपालिकाले आवश्यक कार्यक्रम ल्याउने बचन दिएका थिए ।
Discussion about this post