मेचीनगर, ३२ जेठ । मेचीनगर नगरपालिकामा पहिलो पटक युवा लक्षित नवप्रवर्तन (आइडिया हन्ट) कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको संयोजन तथा नगर युवा परिषद्को आयोजनामा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा बुधबार र विहीबार उक्त कार्यक्रम सञ्चालन भएको हो ।
आइडिया हन्टमा मेचीनगर क्षेत्रमा रहेका क्याम्पसका स्ववियु सभापति लगायत पदाधिकारी, विभिन्न राजनीतिक दलसँग आवद्व विद्यार्थी संगठनका प्रतिनिधि तथा कक्षा–११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
स्थानीय तह अन्तर्गत नेपालमा नै पहिलो पटक ‘प्रथम मेचीनगर आइडिया हन्ट’ कार्यक्रमले सहभागी सबैको भविष्यमा प्रभावकारी भूमिका निर्वाह गर्ने मेयर गोपालचन्द्र बुढाथोकीले बताए । उनले स्थानीय सरकार युवाप्रति संवेदनशील रहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले मानिसहरू अरूसँग तुलना गरेर अनावश्यकमा निराश हुने गरेको बताए ।
‘यसले भविष्य झन कमजोर हुनेछ’, अधिकारीले भने–‘समय महत्वपूर्ण रहेको र मानिसले आफ्नो उर्जावान समय चिनेर अगाडि बढ्न आवश्यक छ । चिनेर नहिडे गन्तव्य पुगिदैन । त्यसैले आफ्नो लक्ष्य प्राप्तिका लागि अनवरत रुपमा लागि परिरहनु पर्छ ।’
कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले स्थानीय तहले विद्यार्थीहरूलाई आइडिया ल्याउ त्यस बापत लगानी नगरपालिकाले गर्दिनेछ भनेर नँया कार्यक्रमअघि सारेको बताए ।
आइडिया ल्याए वापत प्रतिव्यक्ति १० हजार पहिलो चरणमा तथा अन्तिममा जम्मा ५० हजार उपलब्ध गराउने छ । त्यस्तै समुहमा आउनेलाई पहिलो चरणमा ५० हजार र बाँकी अन्तिममा जम्मा २ लाख ५० हजार उपलब्ध गराउने तयारी रहेको उनको भनाई छ ।
कार्यक्रममा सहभागीहरुलाई विषय विज्ञ विकास कोइराला र विमल राजवंशीले सहजीकरण गरेको मेचीनगर युवा परिषद् अध्यक्ष कृष्ण काफ्लेले जानकारी दिए ।
Discussion about this post