झापा, १६ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा साउन २३ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको आइतबार बसेको बैठकले साउन २३ गतेदेखि पुरक परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालका अनुसार साउन २३ गतेबाट ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । सोहि अनुसार बोर्डले तयारी गरेको उनले बताए ।
यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने सूचना जारी गरेको थियो । तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो ।
उनले भने ‘बोर्डले नतिजा र प्रश्नपत्र तयारीको काम गर्ने, अरू काम प्रदेशले गरेपछि छिटो र गुणस्तरीय हुन्छ भन्ने हाम्रो बुझाइ छ ।’
अहिले पास भएका र पुरक परीक्षा दिने विद्यार्थीको पढाइमा ‘ग्याप’ कम गर्नका लागि असोजको पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने मन्त्रालयको योजना छ ।
विहीबार प्रकाशित एसईईको नतिजा अनुसार दुई लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन् ।
Discussion about this post