मेचीनगर, १८ असार । मेचीनग नगपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले घाइते सर्प उद्वारकर्मी मुन्ना कार्कीको स्वास्थ्यस्थिति बुझ्न अस्पताल पुगेका छन् ।
आज राति ७ वजे मेयर बुढाथोकीले मेचीनगर–१३ स्थित चारआलीको सर्पदंश उपचार केन्द्रमा पुगेर कार्कीको स्वास्थ्यका बारेमा जानकारी लिएका हुन् ।
कार्कीको स्वास्थ्यस्थिति बुझेपछि मेयर बुढाथोकीले उपचारमा लाग्ने खर्चका विषयमा नगरपालिकाले सहयोग गर्ने बताए । घाइते कार्कीको उपचार यहाँ भए यहिँ, यहाँ नभए अन्य ठाउँमा लगेर भएपनि उपचार राम्रो गर्न परिवारलाई उनले आग्रह गरेका थिए । त्यसका लागि हाम्रो सहयोग रहने बचन दिएको मुन्नाकी आमा निशा कार्कीले बताइन् ।
‘मेयर बुढाथोकीले मुन्नाको स्वास्थ्यस्थिति बुझ्नु भयो’, घाइतेका सहयोगी देबेन्द्र खरेलले भने–‘अन्य विरामीहरु र समग्र उपचार केन्द्रको निरीक्षण समेत गर्नुभयो । नगरपालिकामा निवेदन हाल्नु, सहयोग गर्छु भन्नु भएको छ ।’
केन्द्रका स्वास्थ्य प्राविधिक कृष्णकुमार थापाले उनको शरिरमा भएको विषलाई एन्टिबायोटिक औषधिले काम गरिसकेको बताए । तर, औँलामा घाउ भएको ठाउँमा मासु कुहिएको(नेक्रोसिस) भएकाले शल्यक्रिया गरिएकोले निको हुन समय लाग्ने उनको भनाई छ । मासुसँगै हड्डीमा कुहिएको छ कि छैन भनेर एक्सरे गर्ने काम भइरहेको थापाले बताए ।
कार्कीलाई शुक्रबार मेचीनगर–६, पुरानो भन्सार स्थित आफ्नै घरमा सर्प राखेको बट्टा परिवर्तन गर्ने क्रममा गोमन सर्पले डस्दा घाइते भएका थिए ।
मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेलले सर्प उद्वारकर्मी कार्कीले हिजो समातेका सर्पहरु सुरक्षित ठाउँमा लाने तयारी गर्दा एउटा बट्टामा राखिएको सर्प अर्को बट्टामा सार्ने क्रममा गोमन सर्पले देब्रे हातको साईली औँलामा डसेको जानकारी दिए ।
मुन्ना कार्की सर्प उद्वारमा जिल्लामा परिचित नाम हो । कसैले कुनै ठाउँमा सर्प देखे उनलाई खवर गर्छन् । र, उनी तुरुन्त सो स्थानमा आएर सर्प समाएर सुरक्षित ठाउँमा लाने गरेका छन् ।
आर्थिक अवस्था कमजोर उनलाई विभिन्न व्यक्तिहरुले देबेन्द्र खरेल मार्फत सहयोग दिने मनकारी हातहरु अघि बढिरहेका छन् ।
Discussion about this post