झापा, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालकाे विश्वासकाे मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् ।
एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्यो ।
उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।
२०७९ पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक पुस २६ गते विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो ।
दोस्रो पटक २०७९ चैत ६ गते १७२ मत पाए । तेस्रो पटक २०८० फागुन ३० गते र चौथो पटक जेठ ७ गते विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए ।
तर यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परे । साना दलहरूले समेत साथ दिएनन् ।
उनलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ ।
आगामी साउन २ गतेलाई संसदकाे अर्काे वैठक बस्ने गरि स्थगित भएको छ ।
Discussion about this post