मेचीनगर, २ साउन । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लीलावल्लभ अधिकारीले झापाको मेचीनगर-१४ स्थित दुहागढीमा निर्माण गरिएको होल्डिङ सेन्टरलाई सुधार गृह बनाउन सकिने बताएका छन् ।
कोरोना सङ्क्रमणको तेस्रो लहरका बेला संघिय सरकारले करिव २८ करोड रुपैयाँको लगानीमा उक्त सेन्टर बनाएकाे थियाे ।
त्यसबेला सरकारले हनुमान कन्ट्रक्सन ललितपुरसँग ठेक्का सम्झौता गरेर संरचना निर्माण गरेको थियो । नेपाली सेनाको रेखदेख र संरक्षणमा रहेको होल्डिङ सेन्टरको आज मन्त्री अधिकारीले स्थलगत अवलाेकन गरेका थिए ।
मन्त्रीकाे टाेलीमा मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला लगायत जिल्ला स्थित सुरक्षा प्रमुखहरू रहेका थिए ।
‘यत्रो संरचना अहिलेसम्म प्रयोग विहिन रहेछ` मन्त्री अधिकारीले भने- ‘कोभिडका बखत निर्माण गरेको संरचनालाई अब के गर्ने भनेर मुख्यमन्त्री, झापाका १५ वटै पालिकाका प्रमुख-अध्यक्ष, उपप्रमुख-उपाध्यक्ष, सरकारको प्रतिनिधि, सुरक्षा निकाय तीनवटै अंगका प्रतिनिधिसहित संयुक्त छलफल बैठक बसेर यसलाई केमा प्रयोग गर्न सकिन्छ छलफलले अन्तिम टुंगाे लगाउने छाैँ ।
कोशी प्रदेश स्तरीय पुनः स्थापना केन्द्र विकास गर्न पनि सकिन्छ भन्ने अवसरको रुपमा आएको भन्दै मन्त्री अधिकारीले त्यसको अतिरिक्त सुधार गृह बनाउन सकिने दावी गरे ।
‘सुधार गृह भन्नाले कुलतबाट मुक्त मात्र गराउने मात्र होइन’ मन्त्री अधिकारीले भने- ‘गृहभित्रैबाट उनीहरुलाई सीपमुलक तालिम दिने, यहाँबाट बाहिर गईसकेपछि सिकेको सीपलाई व्यवहारमा उतार्न सकोस । ’
चार विगाहा क्षेत्रफलमा स्थापित एक हजार मान्छे अट्ने क्षमताको होल्डिङ सेन्टरमा एकै डिजाइनका २२ वटा अत्याधुनिक पक्की भवन छन् ।
त्यसमा एक हजार वेड, एकसय वेडमा अक्सिजन जडान, १५ वटा डाइनिङ हल, २२ वटा शौचालय, दुई डाक्टर र स्वाथ्यकर्मी बस्ने एडमिन भवन, दुई एडमिन किचन छन् ।
मेयर बुढाथोकी र उपमेयर उप्रेतीले यसलाई तत्काल सञ्चालनमा ल्याउन मन्त्री अधिकारीलाई अनुरोध गरेका थिए ।
नेपाली सेनाको अरिदम गण चारआलीका प्रमुख सेनानी प्राजु बस्न्यातले होल्डिङ सेन्टरको विगत र बर्तमान अवस्थाका बारेमा मन्त्री अधिकारीलाई जानकारी गराएका थिए । यसअघि मन्त्री अधिकारीले मेचीनगर नगरपािलकाका विषयमा छलफल गरेका थिए ।
मेयर बुढाथोकीको कार्यकक्षमा भएको छलफलमा लगूऔषधबाट उत्पन्न समस्या, प्रहरीका जीर्ण संरचना, खानेपानी लगायतका विषयमा छलफल भएको थियो ।
Discussion about this post