मेचीनगर, ६ साउन । बंगलादेशकाे आन्दोलनका कारण पूर्वीनाका काँकरभिट्टा हुँदै आजसम्म ६४८ जना नेपाली विद्यार्थी बंगलादेशबाट फर्केका छन् ।
अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख माेहन पनेरूले बंगलादेशबाट एक हप्तामा ५१८ जना नेपाली विद्यार्थीहरू पूर्वी नाका आइपुगेकाे बताए ।
उनले आज आएका १३० जनासहित एकहप्तामा ६४८ जना नेपाली विद्यार्थी नेपाल आइपुगेकाे जानकारी दिए ।
बंगलादेशमा आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु फर्किने लर्काे छ ।
चिकित्सा शिक्षा अध्ययनका लागि हजारौं नेपाली विद्यार्थीहरु बंगलादेशमा छन् ।
केही समययता बंगलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले हिंसा भड्किएकाे छ ।
अहिले त्यहाँका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएका छन् ।
ढाकास्थित नेपाली राजदूताबासले समेत ‘एडभाइजरी नोटिस’ जारी गर्दै नेपाली विद्यार्थीहरुलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूताबासमा जानकारी गराउन भनिएको छ ।
नेपाली विद्यार्थीहरुले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरिरहेका छन् ।
´नेपाली विद्यार्थीहरू आउने क्रम जारी छ`, पनेरूले भने – ´विद्यार्थीहरू ग्रुप ग्रुप बनाएर आइरहेका छन् । विद्यार्थीकाे लगत राखेर घर पठाइरहेका छाैँ ।`
Discussion about this post