विराटनगर, २८ भदौ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ ।
आज कांग्रेसबाट सहभागी ३ जना मन्त्री र एक जना राज्यमन्त्रीले शपथ लिएका हुन् ।
कांग्रेसका प्रदेश महामन्त्री समेत रहेका प्रदेश सांसद भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी भएको छ ।
नेता कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।
सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । राजबंशी झापा क्षेत्र नम्बर ३ का हुन् ।
यस्तै खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् ।
हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् भने मण्डल संस्थापन पक्षकै ज्ञानेन्द्र कार्कीका विश्वास पात्र मानिन्छन् ।
गत साउन १२ गते सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ जना मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन ।
आज शेखर समूहविना कांग्रेस सरकारमा सहभागी भएको छ । कोशीमा शेखर कोइराला पक्षले २ वटा मन्त्रालय मागेको थियो । संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने बताएको थियो ।
Discussion about this post