झापा, ३ असोज । भूकम्पले क्षति गरेको आठ वर्षपछि पहिलो पटक अत्याधुनिक धरहरा आजदेखि खुलेको छ ।
संविधान दिवसको अवसर पारेर आजदेखि सर्वसाधारणको लागि धरहरा खुला गरिएको हो ।
शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा खुलाएको धरहरा केही समय निःशुल्क चढ्ने व्यवस्था मिलाइएको छ । विहानैदेखि धरहरा चढ्न सर्वसाधारणको भिड लागेको छ ।
एक दिनमा अधिकतम ६ सयले धरहरा चढ्न पाउने अधिकारीले सुनाए । उनका अनुसार त्यसमध्ये १ सय कोटा वृद्ध, अशक्त, अपाङ्गता भएकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टा सय जनाले चढ्ने गरी व्यवस्था मिलाइएको छ ।
यस्तै धरहराभित्रको बेसमेन्टको पार्किङ पनि काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याइसकेको छ । यहाँ ३५० वटा गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बनाइएको छ ।
धरहरा परिसरमा बगैंचा, संग्रहालय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल सञ्चालनमा आउनेछ । धरहरा परियोजना अन्तर्गत यात्रु प्रतीक्षालय तीन महिनाअघि नै सञ्चालनमा आइसकेको छ ।
धरहरा निर्माणको करिब ५ प्रतिशत काम भने अझै बाँकी छ । ठेकेदार कम्पनीले पूरा काम सकाएर हस्तान्तरण गरेपछि मात्र यसको सञ्चालन प्रक्रिया टुंग्याइनेछ । मन्त्रालयको शहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा पाएको छ ।
सरकारले गठन आदेश नबनाउन्जेलसम्म सर्वसाधारणलाई निःशुल्क गरिएको हो । निःशुल्क प्रवेश गर्न मजबचजबचब।नयख।लउ बाट अनलाइन टिकट बुक गर्न सकिने इकाइ आयोजना निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए ।
तर, वेबसाइट नखुल्ने समस्या देखिएको छ । त्यस्तो अवस्थामा काउन्टरमा गएर टिकट लिएको प्राथमिकताका आधारमा धरहरा चढ्न दिइनेछ । उनका अनुसार वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्यूआर कोड लिन मिल्ने व्यवस्था गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षअघि नै निर्माणाधीन अवस्थामै धरहराको उद्घाटन गरेका थिए । पुनः धरहरा उद्घाटन गर्ने कार्यक्रम नरहेको विभागले जनाएको छ ।
२०७२ सालको भूकम्पमा बचेको धरहराको बाँकी संरचनालाई पानी, हावाहुरीले नबिग्रने गरी संरक्षण गरिएको छ । त्यस भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिएको छ ।
नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन् भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाइएको हो । भूकम्पले क्षति पु¥याएको तीन वर्षपछि २०७५ पुस १२ मा आधुनिक धरहरा निर्माणको शिलान्यास भएको थियो ।
भीमसेन थापाले काठमाडौंको सुन्धारामा विक्रम संवत् १८८२ मा ११ तलाको धरहरा निर्माण गरेका थिए । १९९० को भूकम्पले त्यो धरहरामा क्षति पुगेपछि राणा प्रधानमन्त्री जुद्ध शम्शेरले ११ तलाबाट झारेर नौ तले बनाए ।
नयाँ धरहरा २२ तलाको भूकम्प प्रतिरोधात्मक छ । नयाँ धरहरा पुरानो धरहराका बाँकी अंश रहेको क्षेत्रबाट करिब १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा छ । साढे ४२ रोपनी क्षेत्रफलमा फैलिएको गजुरसहितको नयाँ धरहराको उचाइ ७७ मिटरको रहेको छ ।
Discussion about this post