मेचीनगर, ३ असोज । मेचे समुदायको संस्कृति र परम्परा समेटिएको नेपाली कथानक चलचित्र ‘बिक्रमदेवा’ चाँडै प्रदर्शनमा आउने भएको छ ।
आज बिर्तामोड स्थित होटल पपुलरमा आयोजित पत्रकार सम्मेलनमा केहि अंश मेचे समुदायको संस्कृतिमा आधारित ‘बिक्रमदेवा’ चलचित्रको च्यारिटी सो यही असोज १४ गते बिर्तामोडको पाथिभरा सिने प्लाजामा हुने जानकारी गराएको हो ।
चलचित्रका निर्देशक कुमार केसीले मेचे समुदायको संस्कृतिलाई प्रवर्धन गर्ने उदेश्यले उक्त चलचित्र प्रदर्शन गर्न लागिएको बताए । उनका अनुसार उक्त भाषामा २० प्रतिशत र ८० प्रतिशत नेपाली भाषाको चलचित्र हुने छ ।
‘मेचे समुदायको कल्चर के हो, कस्तो हुन्छ, देखाउन खोजिएको हो’, चलचित्रका नायक समेत रहेका सुवास मेचेले भने–‘मेचे जाति भन्ने अझै मान्छेले बुझेका छैनन् । त्यही विषय समेटेर चलचित्र तयार गरिएको छ ।’
चलचित्रका निर्माताहरु अर्जुन मेचे, प्रताप मेचेले सानो जातिले ठुलो पर्दामा पहिलो पटक निर्माण गरेको ‘बिक्रमदेवा’ देश–विदेशमा रहने सिमान्तकृत तथा लोपोन्मुख समुदायलाई चिनाउने एउटा अवसर पनि रहेको बताएका छन् ।
करिव एक करोड २० लाख लगानी रहेको चलचित्र झापा र इलामका पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको छ ।
उक्त चलचित्रमा कलाकारहरु सुवास मेचे, प्रताप मेचे, उर्मिला कार्की, भावना मगर, पुकार भट्टराई, विपिन प्रसाई, रोहन सेन्चुरी, अमर मेचे, नायकको बुबाको रोलमा सुनिल थापा लगायत रहेका छन् ।
आगामी बैशाखमा मेचे समुदायको महान पर्व बैशाखु पर्वमा उक्त चलचित्र प्रदर्शन गरिने मेचे समाज शिवियारी आफतका मेचीनगर सचिव अमर मेचेले जानकारी दिए । उनका अनुसार अहिले भने देश–विदेशमा च्यारिटी सो मात्र गरिने छ ।
नेपालमा पाँच हजार १९३ जना मेचे समुदायको बसोबास छ । त्यसमध्ये धेरै झापामा बसोबास गर्छन् । मोरंग, सुनसरी र अन्य जिल्लामा थोरै मात्रमा मेचे समुदायको बसोबास छ । यी समुदाय नेपालमा सिमान्तकृत तथा लोपोन्मुख जातिमा सूचीकृत छन् ।
पत्रकार सम्मेलनको सहजीकरण मेचे समाज शिवियारी आफतका केन्द्रीय संस्कृति विभाग संयोजक पवनलाल मेचेले गरेका थिए ।
Discussion about this post