चारआली, २ असोज । मेचीनगर नगरपालिकासहित जिल्लाका सरकारी कार्यालयको संयुक्त टोलीले आज चारआली बजारमा अनुगमन गर्दा लक्की डिपार्टमेन्टबाट उत्पादन मिति नभएका करिव ६ कार्टुन जति खाद्यवस्तुहरु बरामद गरेको छ ।
बुधवार लक्की डिपार्टमेन्टबाट उत्पादन मिति र कहिलेसम्म खान योग्य हुने समय नभएका दाल, ड्राइफुड र मसलाका साना–साना प्याकेटमा राखिएका उक्त खाद्य वस्तुहरु ६ वटा कार्टुनमा थुपारेर शिलप्याक गरि, मुचुल्का उठाएर नगरपालिकाले लगेको छ ।
प्याकेजिङ गरिएका उक्त खाद्य वस्तुहरुको अनुज्ञापत्र समेत नभएकाले सम्बन्धीत कार्यालयमा ७ दिनभित्र उपस्थित हुन लक्की डिपार्टमेन्टका सञ्चालक रमेशप्रसाद आचार्यलाई अनुरोध गरेको बजारमा अनुगमनको अगुवाई गरेका टोली प्रमुख एवम् मेचीनगर नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले जानकारी दिए ।
डिपार्टमेन्टमा म्याद नाघेका अखाद्य वस्तुहरु सस्, जुस, फ्रुटी, चाउचाउ लगायत पनि बरामद गरेको छ । बरामद गरिएका खाद्य वस्तुका विषयमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुसन्धान गरेर कारवाही वा जरिवाना के हुन सक्छ त्यहि गरिने उनको भनाई छ ।
त्यस्तै टोलीले मोहन किराना पसलबाट राजविराज–४ स्थित सप्तरीको नेपाल स्नेक्स उद्योगले उत्पादन गरेको उत्पादन मिति नभएको २०÷२० केजीको दुई बोरा अर्हम फिङ्गर चिप्स् (ढुंङ्गरी) बरामद गरेको छ ।
लेवल नभएको र म्याद ग्रुजिएका साढे ९ केजी नुन, ५ केजी पाँचफोरन, ४ केजी सेतो तिल,, ढेड केजी सोडा, ३ प्याकेट ललिपप, ६ केजी पापड समेत टोलीले बरामद गरेको छ ।
यस्तै दिप्ती स्टोरबाट म्याद नाघेका खाद्य पदार्थहरु सेलो तेल, बुष्ट, चोखो चिप्स्, बुजिया बरामद गरिएको छ । टोलीले एनएमसी सहकारी पसलबाट लेवल नभएको ८ सय ग्रामका फर्सीको विँया बरामद गरेको छ । टोलीले ग्यास र हार्डवेयर पसल सञ्चालन गरेका प्रजिना स्टोर्सका सञ्चालकलाई डकुमेन्टहरु सबै अपडेट राख्न सचेत गराएको छ ।
यसैगरी राई किराना पसलबाट लेवल नभएको पापड, म्याद नाघेको च्वानप्रास र कोक लगायतका अखाद्य वस्तु बरामद गरेको छ । पेय पदार्थ भने पसल अगाडि नष्ट गरिएको छ ।
टोलीमा नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्की, जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा भिमबहादुर तामाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी खाद्य निरीक्षक संगीता साह, गुणस्तर तथा नाप तौल कार्यालयका सिमी हरेराम महतो, कास कामिन राजवंशी, मेचीनगर–१३ का वडा सदस्य राजेन्द्र न्यौपाने, मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारी, सदस्य मानकुमार कटुवाल, उपभोक्ता जागरण अभियान नेपाल झापा सदस्य अर्जुन कार्की, चारआली प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक टंकप्रसाद कोइराला, नगर प्रहरीहरु प्रकाश बानियाँ र विजय लिम्बु लगायतको सहभागिता रहेको थियो ।
बजारमा अनुगमन टोली आएको थाहा पाएपछि केहि पसलेहरु हतार हतार पसलको सटर बन्द गरेर भाग्ने गरेका छन् ।
Discussion about this post