काँकरभिट्टा, ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा ‘पर्यटन र शान्ति’ मुल नाराका साथ पर्यटन कार्यालय काँकरभिट्टाले आयोजना गरेको मेचीनगरस्तरीय अन्तरमावि चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
विहीबार र शुक्रबार सञ्चालन भएको मेचीनगरस्तरीय अन्तरमावि चित्रकला प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ बालकल्याण माविकी छात्रा जेसिक लावती प्रथम भएकी छन् । बालसुवोधिनि माविका छात्र कुशल बस्नेत दोस्रो र आदर्श माविका छात्र आशिक राजवंशी तेस्रो भए ।
त्यस्तै संस्थागत विद्यालयतर्फ नर्थ पोइन्ट माविकी छात्रा सौरभी राई प्रथम, बालबाटिका विद्यालयकी छात्रा साइसा खतिवडा दोस्रो र तारापुञ्ज विद्यालयका छात्र उत्सव दाहाल तेस्रो भएका थिए ।
प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् कोशी प्रदेश सांसद गोपाल तामाङले नगदसहित प्रमाणपत्र वितरण गरेका थिए ।
सोही अवसरमा जैविक विविधता पर्या–पर्यटन सम्बन्धि फोटो तथा चित्रकला प्रदर्शनी समेत गरिएको थियो । कोशी प्रदेशमा पाईने विभिन्न प्रजातिका चरा, रेडपाण्डा, हरियो विरालो, सर्प कछुवा, ठकठके, लगायतका ३९ वटा फोटो प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा राखिएका फोटो तथा चित्रकलाका बारेमा मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले स्पष्ट पारेका थिए ।
खरेलले मेचीनगरमा मात्रै ३४२ प्रजातिका चरा रहेको दावी गर्दै जैविक विविधताका हिसावले मेचीनगर तथा कोशी प्रदेश अन्य प्रदेश भन्दा धनी रहेको दावी गरे ।
समापन कार्यक्रममा प्रमुख अतिथि सांसद गोपाल तामाङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, इलाका प्रहरी कार्यालय काँकरभिट्टा डिएसपी मिमबहादुर लामा, अध्यागमन कार्यालयका प्रमुख तुलसी भट्टराई, मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल, समाजसेवी राजु महर्जन लगायतको उपस्थिति रहेको थियो ।
विहीबारको पहिलो दिनको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यता रहेको थियो ।
पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सूचना अधिकारी निरोज कट्टेलले गरेका थिए ।
Discussion about this post