मेचीनगर, १५ असोज । यात्रुको सहजताका लागि झापाको ६ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
आजदेखि नेपालीहरुको महान चाँड पर्वहरु नजिकिएसँगै झापाको काँकरभिट्टा, बुधबारे, चन्द्रगढी, बिर्तामोड नयाँ बसपार्क, बिर्तामोड पश्चिम बस स्टेण्ड र दमकको बसपार्कमा गरी ६ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
काँकरभिट्टामा यात्रु सहायता कक्षको औपचारिक उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले गरे ।
कार्यक्रममा प्रमुख अतिथि सिडिओ बाँस्तोला, सशस्त्रका एसपी कविन्द्र राई, यातायात व्यवस्था कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटा, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, काँकरभिट्टा बस पार्क तथा टर्मिलन व्यवस्थापन समितिका संयोजक डिल्लीराम घिमिरे, पूर्व मेची बस व्यवसायी प्रालिका पूर्व अध्यक्ष विष्णुकुमार श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राजकुमार सुवेदी, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा चालकद्वय गोपाल पौडेल र विष्णु सार्कीलाई सम्मान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवम् एसपी मिलन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले गरेका थिए ।
नजिएको चाडपर्व दशैँ, तिहार, छठ लगायतका पर्वहरुको समयमा सवारी साधनमा यात्रा गर्ने यात्रुहरुको संख्या बढी हुने हुँदा उनीहरुको सुरक्षा, सुविधा र सहज आवागमनका लागि यात्रु सहायता कक्षको व्यवस्था गरिएको प्रहरी निरीक्षक पौडेलले बताए ।
यो बेलामा बसवालाले बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका समस्या, दुर्घटना समेत बढी हुने सम्भावनालाई नियन्त्रण गर्न यात्रु सहायता कक्ष सञ्चालन गरिएको उनको भनाई छ ।
Discussion about this post