

मेचीनगर, १७ असोज । ५३ वर्ष अगाडि स्थापना भएको धुलाबारी रोलिङ्ग क्लबले आगामी कात्तिक ३ गतेदेखि १० गतेसम्म अन्तराष्ट्रिय आमन्त्रण ८औँ रोलिङ्ग च्यालेन्ज कप प्रतियोगिता गर्ने भएको छ ।
आज धुलाबारी स्थित निम्तो रेष्टुरेन्टको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा धुलाबारी रोलिङ्ग क्लबले उक्त प्रतियोगिता गर्ने जानकारी गराएको हो ।
क्लबका सचिव महेश खड्काले २०२८ सालमा स्थापना भएको क्लबले आगामी कात्तिक ३ गतेदेखि १० गतेसम्म धुलाबारीमा अन्तराष्ट्रिय आमन्त्रण ८औँ रोलिङ्ग च्यालेन्ज कप प्रतियोगिता गर्न लागिएको बताए ।
उनका अनुसार प्रतियोगितामा भारत र नेपालका गरी ८ वटा टिम सहभागी हुनेछ । सहभागी हुने टिमहरुमा भारतका मानेभन्ज्याङ फुटबल क्लब दार्जिलिङ, सुकुना युनाइटेड फुटबल क्लब सिलीगुडी रहेका छन् ।
त्यस्तै नेपालको रेडहर्स फुटबल क्लब इलाम, मोरंगको सम्राट स्पोटिङ क्लब, सुनसरीको राष्ट्रिय जागृति फुटबल क्लब, नेपाल पुलिस क्लब विराटनगर, सशस्त्र प्रहरी क्लब पकली सुनसरी र आयोजक धुलाबारी रोलिङ्ग क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेतालाई ३ लाख र उपविजेतालाई एक लाख ५० हजार राशिको पुरस्कार राखिएको खड्काले जानकारी दिए । अन्य पुरस्कारहरु ५ हजार भन्दा बढीको रहेको छ । उत्कृष्ट खेलाडी विद्यामा भने १५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।
क्लबले यसअघि ७ औँ सस्करणमा प्रथम र उपविजेतालाई क्रमशः २ लाख र १ लाख राशिको पुरस्कार राखेका थिए । यसपटक पुरस्कारको राशि बढाइएको आयोजकको भनाई छ ।
प्रतियोगिता हेर्न टिकट रु.१०० लाग्ने छ । प्रतियोगिता सम्पन्न गर्न अनुमान करिव ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने आयोजकको भनाई छ ।
प्रतियोगिताको मुख्य प्रायोजक होटल मेची क्राउन तथा सहयोगी संस्थाका रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा), झापा जिल्ला फुटबल संघ, मेचीनगर नगरपालिका, मेचीनगर–९ र १० नम्बर वडा कार्यालय रहेका छन् ।
पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष इन्द्र आङदेम्वेले विगतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु जन्माइसकेको यस क्लबले नयाँ प्रतिभा भएका खेलाडीहरु उत्पादन गर्ने र क्लबको भवन निर्माणका लागि उक्त प्रतियोगिता गर्न लागिएको बताए ।
क्लबका पूर्व अध्यक्ष एवम् एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले क्लबको भवन बनाउन यसअघि १० धुर जग्गा दिइसकेको आयोजकले जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनिष दाहाल, महासचिव शेरबहादुर वस्नेत (सुन्दर), क्लबका उपाध्यक्ष आङदेम्वे लगायतले प्रतियोगिताका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
धुलाबारी रोलिङ्ग क्लबका अध्यक्ष नोबेम्बर नेम्बाङको अध्यक्षता भएको पत्रकार सम्मेलनको सञ्चालन सचिव महेश खड्काले गरेका थिए ।




Discussion about this post