मेचीनगर, २४ असोज । दशैँ, तिहार र छठ लगायतका चाड पर्वले झापाको खाद्य बजार महंगीएको छ ।
व्यापारीहरुले विभिन्न बहानामा खाद्य सामग्रीहरुको मूल्य बढाएका छन् ।
चाडपर्वमा अत्यधिक खपत हुने चामल, तेल, दाल, जीरा, धनियाँ लगायतको मूल्य बढेको छ । ती खाद्य सामग्रीहरुमा एक महिनाको अन्तरमा २० रुपैयाँदेखि एकसय रुपैयाँसम्म मूल्य बढेको छ ।
दशैँमा मासुजन्य वस्तुहरुको बढी खपत हुने हुँदा जीरा, धनियाँ लगायतका मसलाहरुको मूल्य व्यापारीहरुले बढाएका छन् । ती वस्तुहरुमा करिव २० प्रतिशत मूल्य वृद्धि भएको छ ।
व्यापारीहरु सीमासँग नाका जोडिएका भारतीय बजारहरुमा खाद्य सामग्रीहरुका लागि निर्भर छन् । नेपाली बजारको तुलनामा व्यापारीहरुले भारतीय बजारमा सस्तोमा पाइने भएकाले खाद्य वस्तुहरु त्यहीबाट ल्याउने गर्छन् ।
पूर्वी नाका काँकरभिट्टा हुँदै झापाको मूख्य बजार धुलाबारी, बिर्तामोड, भद्रपुर, दमकसम्म व्यापारीहरुले दाल, चिनी, चामल, तेल, मसला, पु¥याउने गर्छन् । उनीहरुले ढुवानी खर्च बढेको बहानामा सामानको मूल्य बजारै पिच्छे अलग–अलग दररेटमा बेच्ने गर्छन् ।
मूल्य बढ्नुको अन्य अरु कुनै कारण नभई चाड पर्वको मौका छोपेर व्यापारीहरुले खाद्य सामाग्रीहरुमा कृत्रिम अभाव सृजना गरेर मूल्य बढाएको उपभोक्ताहरुको गुनासो छ । पर्वका बेला बढी खाद्य सामग्री खपत हुने भएकाले तिनीहरुको कृत्रिम अभाव सिर्जना गरेर ती सामानहरुको मूल्य बढाएको उनीहरुको भनाई छ ।
व्यापारीहरुले सीमा नाकामा लुकाई छिपाई बढी नाफा कमाउने उद्देश्यले खाद्य, सामग्रीहरु ठाउँ पिच्छे फरक–फरक मूल्यमा बेच्ने गर्छन् । बजारमा सामान नै नपाएको जनाउँदै व्यापारीहरुले मनपरी मूल्य लिई बेच्ने गरेको उपभोक्ताहरु बताउँछन् ।
धुलाबारी बजारमा बुधबार एक उपभोक्ताले मेचीनगर अनलाइनलाई भने–‘सामान छुनै नसक्नु छ । दशैँका लागि खाद्य सामग्रीहरु अग्रिम जोहो गर्न किनमेलका लागि आएकी उनले भनिन्–‘सबै खाद्य सामग्रीमा मूल्य बढेको छ । दशैँको खर्च धान्नै गाह्रो भएको छ ।’
सीमावर्ती भारतीय बजार पानीटङ्की, बतासी, नक्सलवाडी, सिलीगुडीबाट विभिन्न खाद्य सामग्रीहरु व्यापारीहरुले ल्याउने गर्छन् । खाद्य सामग्रीहरु उपभोक्तासम्म पुर्याउँदा थुप्रै ठाउँमा पैसा तिर्नुपर्ने भएकाले ती सामानहरुमा मूल्य बढेको व्यापारीहरु बताउँछन् ।
खाद्य सामग्री भारतीय बजारबाट ल्याउँदा भन्सार, प्रहरी तथा अन्य तीन चार ठाउँमा पैसा तिर्नु परेको
व्यापारीहरुको भनाइ छ । ‘सबैलाई तिरेर आफ्नो लागि अलिकति नाफा छुट्याएर बेच्नुपर्छ’ एक व्यापारीले भने–‘हामी आफैंले मूल्य बढाएका होइनौँ ।’
अति उपभोग्य सामग्रीसँगै जिल्लामा तरकारीको मूल्य वृद्धि भएको छ । साग, लाउका, फूलकोपी, बन्दाकोपी, गोलभेडा, खुसार्नी, करेला, सिमी, आलु लगायतका तरकारीको मूल्यमा बृद्धि भएको हो ।
जिल्लाका प्रमुख शहरमा रहेका कृषि उपज बजारमा तरकारीको भाउ एक महिनामै २० देखि ४० प्रतिशत बृद्धि भएको छ । बिर्तामोड स्थित कृषि उपज बजारमा पनि मुख्य तरकारीहरुमा मूल्य बृद्धि भएको छ । आयातीत तरकारीमा भर पर्नु परेकाले जिल्लामा भाउ बढेको हो ।
बिर्तामोड कृषि उपज केन्द्रका अध्यक्ष निरजकुमार ओलीले गत असोज १२ गते आएको वर्षासँगै आएको बाढी र पहिरोले पहाडबाट आउने सिधै आउन तरकारीहरु नआएका कारण बजार महंगीएको बताए ।
उनले पहाडबाट आउने तरकारी धरान लगायतका ठाउँबाट लामोबाट ढुवानी गरेर आउँदा बजारमा २० देखि ४० प्रतिशतले तरकारीको भाउ महंगीएको दावी गरे ।
कृषि उपज बजारमा टमाटरको खुद्रा मूल्य १६०, आलु ११०, प्याज १२०, गाँजर १७०, फुलकोपी १६०, केरला १२०, बन्दाकोपी ६०, सिमी ११०, साग ६०, मूला २५, पर्वल १४०, स्कुस ३० रुपैयाँ प्रतिकिलो मूल्य रहेको अध्यक्ष ओलीले जानकारी दिए ।
तर, बिर्तामोड कै बजारमा खुद्रा मूल्यको अन्तर धेरै रहेको उपभोक्ता बताउँछन् । बिर्तामोडकी कविता अधिकारीले खुद्रा मूल्य पसलै पिच्छे फरक र धेरै रहेको बताउँछिन् ।
‘थोक मूल्यभन्दा ५० रुपैयाँको अन्तर पाइन्छ’ उनले भनिन्–‘सरकार कानमा तेल हालेर बसेको छ । औँसी पूर्णेमा बजार अनुगमन हुन्छ, मनपरी मूल्य तोक्ने व्यापारीका कारण उपभोक्ता मारमा परिरहेका छन् ।’
चाडबाडमा मात्र होइन अरु बेला पनि भारत र अन्य ठाउँबाट विषादी तरकारी ल्याएर महंगोमा बेच्ने गरेको अधिकारीको आरोप छ । उनका अनुसार विषादी तरकारीले पैसा पनि गयो, स्वास्थ्यमाथि पनि खेलबाड भयो । विषादी तरकारीको प्रयोगले घरघरमा विरामी बढेका छन् । क्यान्सर, मिग्रौला, मुटु, सुगर, थाइराइड लगायतका रोगी घरघरमा बढेका छन् ।
त्यसो त बिर्तामोड मात्र होइन यहि प्रवृति जिल्लाका सबै ठाउँमा छ । महंगीले गर्दा उपभोक्ताको ढाड सेकिएको छ । काँकरभिट्टाका सुमन दाहालका अनुसार बजारमा सधैँ टमाटर लिन जाँदा एक केजीको १०० रुपैयाँ पथ्र्यो । हिजो टमाटर लिन जाँदा एक केजीको २०० रुपैयाँ भन्यो । अन्तिममा एक केजीको १९० रुपैयाँ भन्दा छोडेनन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले अहिले जिल्लामा तरकारीको उत्पादन नहुने बताए । उनका अनुसार बर्षभरिको तथ्याङ्क हेर्दा ३० प्रतिशत तरकारी उत्पादन गिरावट हुने गरेको छ । उच्च पहाडी क्षेत्र र भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।
‘यसपटक पानीले पहाडबाट आउने तरकारीहरु धेरै रोकिए’ विष्टले भने–‘तरकारीको माग बढी छ, तर, पहाडबाट सप्लाई कम्ति भयो । व्यापारीले महंगोमा ल्याएर अलिक बढी महंगोमा बेचे । बढी नाफा लिन खोजे ।’
।। अर्जुन कार्की ।।
Discussion about this post