दशैँको उल्लासले गाउँ–सहरमा रमझम बढेको छ । यो चाडले खासगरी हिन्दू नेपालीहरुलाई व्यस्त बनाउँछ । टिका, भेटघाट तथा पारिवारिक जमघटले यो पर्वको महत्वलाई अझ उचाईमा पुर्याएको छ । तर, अझै पनि समाजका हरेक नागरिकलाई दशैँको उल्लासले उस्तै रुपमा छुन सकेको छैन । खासगरी हुने खाने र हुँदा खाने वर्गबीचको खाडल झन्–झन् गहिँरिदो छ । नेपालका धेरै ग्रामीण क्षेत्र छन्, जहाँ वर्षभरीजस्तो अभावको पीडाले सताउँछ । अहिले पनि चामल नपाएको पीडा भोगिरहेका नागरिकको पंक्ति पश्चिम पहाडमा ठूलो छ । तर, सहरमा चिन्ता अर्कै छ । नयाँ नोट नपाएको तनावले सहरलाई सताइरहेको छ ।
दशैँमा उपभोगका लागि छान्ने विकल्प थोरै भएकोमा चिन्ता छ । एउटा सानो भूगोलमा देखिने यी बिल्कुल फरक दृश्यले देखाउँछन्, हामी विभेदको खाडल झन् गहिरो बनाउँदैछौँ । उदेकलाग्दो त के छ भने, यो खाडल पुर्ने प्रयास कतैबाट भएको छैन । विभेदको यो विराट रुपलाई सरकार गुलिया नाराले छोपेरअघि बढिरहेको छ ।
जनताकोे आशाको किरणको रुपमा रहेको राजनीतिक पद्दतिमा त्यही नियति दोहोरिन दिनु हुँदैनथ्यो । तराई र पहाडका निर्धन नागरिकलाई हरेक वर्ष बाढीले खेदाउँछ । कम्तीमा उनीहरुका लागि बलियो छानाको प्रबन्ध राज्यले गरिदिनुपर्छ । जाजरकोट, कर्णाली र मधेशका भोकाहरुको, पीडितहरुको आवाज सुन्दैन । जसका कारण ती नागरिकलाई न दशैँको रमझमले छुन्छ, न तिहार, इद, न छठको रमाइलोमा मन भुल्छ । यस्तो स्थितिमा राष्ट्रपतिले, प्रधानमन्त्री र दलहरुले जारी गर्ने चाडपर्वको शुभकामना वक्तव्यको कुनै अर्थ छैन ।
कारण टाडा जानु पर्दैन । यही असोज पहिलो हप्ता आएको बाढी, पहिरो र विपद्मा झण्डै ३०० जना नागरिकहरुले ज्यान गुमाए । पहिलै विपद्को तयारी नभएकै कारण सरकार चुक्यो । आगामी दिनमा यस्ता घटनामा पाठ सिकेरअघि बढ्ने चेष्टा गर्नुपर्छ । नत्र जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान वास्तवमा सही हुन सक्छ ।
निश्चय नै हजारौँ वर्षको विभेद दश वर्षमा सकिन्न । परिवर्तन लामो प्रक्रिया हो, यो कुर्ने धैर्यता पनि चाहिन्छ । तर, यसको अर्थ भोक र रोगले पनि परिवर्तन पर्खिरहन्नन् । मधेशका नागरिकले स्वास्थ्य केन्द्रले सित्तैमा दिन्छु भनेको औषधि पाएका छैनन् । मुलुकमा चुनाव भइरहने तर जनताका आधारभूत समस्या पनि समाधान नहुने अवस्था लामो नजाओस् । हरेक पर्वमा शुभकामना व्यक्त गरेर औपचारिकता दर्शाउने निर्णायक तहलाई चेत आओस्, राज्यको हरेक इमान्दार प्रयास जनताको खुशीको आधार बन्न सक्छ । विभेदको पर्खाल भत्काउने हिम्मत गरे, धेरै निमुखाको आँशु रोक्न सकिन्छ । तीन तहकै सरकारले कम्तीमा यत्ति महसुस गरिदिने हो भने हुँदा खाने वर्गले पनि चाड पर्वको उल्लासमा मन खोलेर रमाउने थिए । जेहोस् सबैलाई दशैँको शुभकामना ।
Discussion about this post