झापामा मिग्रौला, क्यान्सर लगायतका रोगका विरामी दिन प्रतिदिन बढिरहेका छन् । यी रोगका विरामीहरु विभिन्न जोखिम मोलेर अस्पताल धाईरहेका छन् । सबै अस्पतालमा उपचार नहुने यस्ता रोगहरुले आर्थिक पक्षलाई समेत गाँजेको छ । आर्थिक अवस्था कमजोर भएकालाई बढी यो रोगले च्यापेको घट्ना समाजमा प्रशस्तै देख्न सकिन्छ ।
हुनेखानेलाई भन्दा पनि विपन्न वर्गमा यो रोगले ग्रस्त पारेको उदाहरण जिल्लामा छ । तर, यो होइन कि गरिव निमुखालाई मात्र यस्ता रोगले सताउने धनिलाई चाहिँ नहुने भन्ने कुरा होइन । यस्ता रोगहरु बढ्नुको मुख्य कारण खानपान र जीवनशैलीका कारण हुने गरेको डव्लुएचओले पनि पुष्टि गरिसकेको छ । हामीले खाने हरेक खाद्य वस्तुलाई सुष्म रुपले अध्ययन गर्न जरुरी छ । किनकी यस्ले पार्ने असरले मानिसको ज्यानै जान सक्ने सम्भावना हुन्छ । भनिन्छ–‘स्वास्थ्य नै जीवनको अमुल्य धन हो ।’ हामीले घरमा, पाहुँना जाँदा, होटल तथा बजारमा बिक्रीका लागि राखिएका विभिन्न परिकारका खाद्य वस्तु खाँदा एकपल्ट सोच्ने कि ।
त्यस्ता खाद्य पदार्थ खाँदा शरिरलाई कतिको फाइदा गर्छ वा गर्दैन भन्ने कुरा सोच्नु पर्छ । ‘लगन पछिको पोते के काम’ भने जस्तो हामीले खाएको खानाले शरिरलाई फाइदा गरेन भने पक्कै पनि अस्वास्थ्यता निम्ताउँछ । अस्वास्थ्यकर खानाले अन्ततः विरामी बनाउँछ । गम्भिर प्रकृतिका रोग लाग्छ, यो निश्चित छ । हामीले खाने साग, सब्जी, तेल, मसला, दाल, आटा, चामल लगायतका खाद्य वस्तु विषादी छ कि छैन, त्यो समेत ख्याल गर्नु पर्छ ।
भारत तथा आफ्नै गाउँघरमा किटनाषक मलबाट उत्पादन गरिएका विषादी भएका खाद्य वस्तुले मानिसलाई अस्वास्थ्य बनाएको कुरालाई नर्कान सकिन्न । अझ मानिसलाई नभई नहुने मादक पदार्थ, सुर्तिजन्य वस्तुले शरिरका विभिन्न महत्वपूर्ण अंगलाई खराव पारिरहेको छ । यस्ता वस्तुहरुको सेवनले मानिसलाई मिग्रौला, क्यान्सर, मुटु लगायतका रोग लाग्ने सम्भावना ७० प्रतिशत बढी हुने स्वास्थ्य रिर्पोटहरुमा पनि स्पष्ट छ ।
सकेसम्म लामो आयु र स्वास्थ्य जीवन बाच्न हामीले जाड, रक्सी, चुरोट, खैनी लगायतका नशालु पदार्थ सेवन गर्न तत्काल छोड्न आवश्यक छ । यसका लागि शरिरलाई तन्दुरुस्ती राख्न व्ययाम, विषादीरहित साकाहारी भोजन, फलफुल, पानी प्रशस्त पिउन र सकारात्मक सोचको विकास गर्न अत्यआवश्यक छ ।
Discussion about this post