मेचीनगर, २४ असोज । प्रदेश र स्थानीय सरकारको लामो समयको छलफलपछि मेचीनगर नगरपालिकाले अब सिटी सफारीको दर्ता गर्न थालेको छ ।
प्रदेश र स्थानीय सरकारको लामो समयको छलफल टुंगीएपछि सिटी सफारीहरूको नगरपालिकाले धमाधम सवारी दर्ता गर्न थालेको हो ।
नगरपालिका क्षेत्राधिकारभित्र रहेका ई–रिक्साको व्यवस्थापन, दर्ता, नविकरण गर्ने जिम्मा प्रदेश सरकारले सम्बन्धित पालिकालाई हस्तान्तरण गरेपछि ऐन कार्यान्वयन गर्न मेचीनगर नगरपालिकाले ‘सिटी सफारी व्यवस्थापन सम्बन्धि कार्यविधि–२०७९’ अनुसार दर्ता प्रक्रिया सुरु गरेको छ ।
कोशी प्रदेश सरकारले पहिलो चरण अन्तरगत मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेका २५० वटा सिटी सफारी दर्ता प्रमाण पत्र प्रदान गर्नेछ । मेचीनगरमा ५ सय वटा सिटी सफारी सञ्चालनमा छन् ।
लामो समयको प्रयास र सरोकारवालाहरूसँगको छलफलपछि मेचीनगर नगरपालिकाले बुधवार सिटी चालक राजेशकुमार सुनुवारलाई सवारी दर्ता प्रमाण पत्र (ब्लुबुक) हस्तान्तरण गरी वितरण कार्य सुरु गरिएको थियो ।
मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल (उप्रेती), प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, खाद्य विश्लेषक दिपेन्द्र कार्की लगायतले संयुक्तरूपमा चालक सुनुवारलाई सवारी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
अव्यवस्थित रूपमा सञ्चालनमा रहेका ई–रिक्सालाई सवारी कार्यविधि अनुसार दर्ता गरी मेचीनगरका विभिन्न क्षेत्रमा चलाउन पाइने नियम लागू गरिएको मेयर गोपालचन्द्र बुढाथोकीले बताए । उनले अब सिटी सफारी दर्ता र नविकरणका लागि अन्यत्र जानु नपर्ने जानकारी दिए ।
Discussion about this post